युवा संघ र खेलकुद पत्रकार मञ्चको मैत्रीपूर्ण फुटसल बराबरीमा सम्पन्न

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

एमालेको युवा संगठन राष्ट्रिय युवा संघ र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीचको मैत्रीपूर्ण फुटसल पाँच–पाँच गोलको बराबरीमा टुंगिएको छ। 

केपी ओली कप–२०८० को प्रचार–प्रसारको उद्देश्यसहित बिहीबार आयोजित मैत्रीपूर्ण फुटसलमा एनएसजेएफले पाँच–एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको हो। 

युवा संघका मिसन राईले ह्याट्रिक गरे। यस्तै, युवा संघका अध्यक्षसमेत रहेको क्षितिज थेबे र मिलन बमले समान एक–एक गोल थपे। एनएसजेएफका शिशिर बस्नेतले ह्याट्रिक गर्दा अभिनव जोशी र बासु ढेके अवालले एक–एक गोल गरे।

केपी ओली कपको दोस्रो संस्करण ११ देखि २० फागुनसम्म आयोजना हुने तालिका छ। यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो। 

प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदानमा हुनेछ। फाइनल खेल भने दशरथ रंगशालमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागिताका लागि खुला आह्वान गरिने र त्यसपछि सहभागी टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ।

नेपालका ‘ए’ डिभिजन र विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले पाँच लाख रुपैयाँ पाउनेछन्। यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउनेछन्। उत्कृष्ट गोलरक्षकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको ‘म्यान अफ द म्याच’ले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सुझावित समाचार