छनोट खेलमा सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा रहेका शरद भेसवाकरलाई बाहिर राख्दै बागमती प्रदेशले बुधबार टोली घोषणा गरेको छ । संघले बुधबार रित गौतमको कप्तानीमा अनुभवी राष्ट्रिय टोलीका पूर्वसदस्य भेसवाकरलाई बाहिर राख्दै १४ सदस्यीय टोली घोषणा गरेको हो । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शरदले ११ विकेट लिएका थिए । काठमाडौंको कप्तानी गरेका शरदले टोलीलाई फाइनलमा पुर्याएका थिए ।
बागमतीले कप्तानमा अप्रत्याशित रूपमा रितलाई जिम्मेवारी दिएको छ । उनी छनोट खेलमा लयमा रहेनन् । चार खेलमा उनले २४ रन जोडेका थिए । भक्तपुरविरुद्ध २३ रन बनाएका हुन् । बाँकी खेलमा चल्न सकेका थिए । प्रशिक्षकमा कलाम अलीले रितसँगै इशान पाण्डे, आंशुतोष घिरैया, प्रतिश जिसी, रविन जोशी (विकेटकिपर), विवेक रानामगर, सूर्य तामाङ, क्रिजल गुरुङ, गौतम केसी, रिजन ढकाल, सोनु देवकोटा, विपिन आचार्य र अशोक पौडेललाई छनोट गरेका छन् ।
यसैगरी वैकल्पिक खेलाडीमा सन्देश कार्की, गौरव खड्का (विकेटकिपर), दीपेश श्रेष्ठ र कृष कार्की रहेका छन् । प्रधानमन्त्री कप २८ पुसदेखि २० माघसम्म हुनेछ । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान, मूलपानी क्रिकेट मैदान र भैरहवास्थित सिद्धार्थ रंगशालामा हुनेछन् । बागमतीले २८ पुसमा नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ ।