११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पा कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालयमा सिटौलाले उम्मेदवारी मनोनयनको निवेदन दर्ता गरेलगत्तै माओवादीकी कार्कीले दर्ता गराएकी हुन् ।
सिटौलाको उम्मेदवारी निवेदनमा प्रस्ताव प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन् । सत्तागठबन्धनमा रहेका दलहरूबीचको सहमतिका आधारमा कोशीमा रिक्त हुने दुईमध्ये कांग्रेस र माओवादीले एक–एक सिट पाएका छन् ।
सिटौला प्रतिनिधिसभाका पछिल्ला लगातारका दुई निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । प्रतिनिधिसभामा पुग्न लगातारका प्रयासमा असफल भएपछि सिटौला राष्ट्रिय सभामा जान लागेका हुन् ।
कोशीमा एमालेका रुक्मिणी चौधरी र पर्शुराम अधिकारीले पनि उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।