पर्वतीय प्रशिक्षण प्रतिष्ठान निष्क्रिय बनाउन खाेजिएकाे भन्दै सरोकारवालाकाे आपत्ति

आइतबार, २२ पुष, २०८०
डिजिटल संस्करण

सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्। 

प्रतिष्ठानका पूर्वपदाधिकारीले अझ सशक्त बनाउँदै लैजानुपर्ने संस्थालाई न्याथममा गाभेर निष्क्रिय बनाउन खोजिएको भन्दै यस्तो कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए।

नेपाल सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को बजेटमा शिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्थालाई कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा पठाएकोप्रति पदाधिकारीले आपत्ति जनाएका हुन्।

उनीहरूले दुई निकायलाई समायोजनको विषयमा सम्बन्धित सरकारवालासँग छलफल नै नगरी मन्त्रालयले प्रक्रिया अगाडि बढाएको भन्दै  आपत्ति जनाएका हुन्। प्रतिष्ठानकी पूर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले प्रतिष्ठानको महत्व प्रकाश पार्दै ट्रेकिङ गाइड, हिमालसम्बन्धी प्रशिक्षण र अनुसन्धानकर्ता उत्पादनमा महत्वपूर्ण भूमिका रहेको बताइन्।

प्रतिष्ठानलाई सरकारले अभिभावकीय जिम्मेवारी लिएर थप लगानी गर्नुपर्ने ठाउँमा खारेज गर्न खोजेर गैरजिम्मेवारपन देखाएको उनको भनाइ छ। शिक्षण प्रतिष्ठानको पाठ्यक्रमलाई समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा न्याथमसँग समायोजन गरेर प्रतिष्ठानको औचित्य र हालसम्मका उपलब्धि समाप्त पार्न खोजेको शेर्पाले दाबी गरिन्। 

उनले न्याथमले हस्पिटालिटी र प्रतिष्ठानले पर्वतीय शिक्षा, प्रशिक्षण र अनुसन्धानमा जोड दिँदै आएको भन्दै दुवै निकायको भूमिका फरक रहेको स्पष्ट पारिन्। जसकारण दुई निकायलाई एक–आपसमा  गाभ्न नहुने शेर्पाको तर्क छ। 

नेपाल पर्वत आरोहण प्रशिक्षक संघका प्रतिनिधि छिरिङ पान्दे भोटेले दुई प्रतिष्ठानलाई समायोजन गरेर सरकारले पर्वतीय शिक्षालाई समाप्त पार्न खोजेका बताए। पर्वतीय शिक्षण प्रतिष्ठानले दक्ष जनशक्तिको उत्पादन गरेर नेपालका हिमाललाई विश्वमा चिनाउँदै आएको बताउँदै थप सशक्त बनाउन सरकारलाई आग्रह गरे। 

यस्तै, छिरिङ जाङबु शेर्पाले पर्वतीय क्षेत्रमा दक्ष कामदार र आरोही पलायन भइरहेको समयमा राज्यले यस्ता निकायलाई थप जिम्मेवार बनाउनुपर्नेमा राज्यले नै निष्क्रिय पार्न लागि परेको भन्दै आपत्ति जनाए।उनले नेपालको हिमालबारे विदेशमा गएर शिक्षा लिनुपर्ने अवस्था आउन नदिन शिक्षण प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा अगाडि बनाउनसमेत सरकारलाई आग्रह गरे।

प्रतिष्ठानका पूर्वअध्यक्ष सन्तोष थापामगरले दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई सरकारले बेवास्ता गरेको बताए। साथै, प्रतिष्ठानका गुडविल एम्बेस्डर सञ्जय खतिवडाले सरकारले समायोजन तयारी फिर्ता नलिए हिमाली पर्यटनमा आधारित व्यवसायी, मजदुर र विद्यार्थी आन्दोलनमा उत्रिने चेतावनी दिए।
 

सुझावित समाचार