गोदाममै थन्कियो ७१ मेट्रिकटन मल

आइतबार, २२ पुष, २०८०
डिजिटल संस्करण
गोदाममै थन्कियो ७१ मेट्रिकटन मल

फाइल तस्बिर

हिउँदेबाली लगाउन ल्याइएको मल गोदाममै थन्किएको छ। पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी)ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ।

जिल्लाका नौ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिकटनभन्दा बढी थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिए। उनका अनुसार हिउँदे बाली गहुँ, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो।

उक्त पत्रअनुसार लिमिटेडले बिक्रेता संस्थालाई मल वितरण सुरु गरेको थियो। नौ बिक्रेताका नाममा रहेको मल उनीहरूले नलगेपछि करिब ७१.३ मेट्रिकटन गोदाममा थन्किएको छ। प्रमुख पोखरलेका अनुसार रामग्राम नगरपालिकाभित्र रहेका परासी आदर्श बहुद्देश्यीय, त्रिदेव बचत तथा ऋण, पाल्हीनन्दन बचत तथा ऋण र साना किसान कृषि सहकारी संस्थाले मल उठाएका छैनन्।

सुनवल नगरपालिकाका स्वाठी र प्रतापपुरको रामजानकी कृषि सहकारी संस्थाले मल उठाएका छैनन्। पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत, परासिया कृषि बचत तथा ऋण र सनही कृषि सहकारी संस्था गरी नौ संस्थाले मल उठाउन बाँकी रहेको जनाइएको छ।

कम्पनीले अहिलेसम्म चारपटक गरी मल वितरण गरेको छ। प्रतापपुरको रामजानकी संस्थाले हालसम्म एकपटक पनि मल नलगेको प्रमुख पोखरेलले बताए। ‘रामजानकी संस्थाका सागर यादवले आन्तरिक तनावले मल उठाउन ढिलो भएको बताउनु भएको छ,’ उनले भने, ‘यादवले पुस मसान्तभित्र मल लगेर किसानलाई वितरण गर्नुहुनेछ।’

कृषि सामग्री लिमिटेडले साउनदेखि अहिलेसम्म एक हजार ६ सय ३९.४ मेट्रिकटन मल वितरण गरिसकेको जनाएको छ। जिल्लामा हिउँदेखेती करिब १९ हजार हेक्टर क्षेत्रफल हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ। हिउँदेबाली लगाइसकेका किसानले अहिले युरिया छर्ने समय हो।
 

See More On

सुझावित समाचार