नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ। कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले शनिबार राजदूत पाथिरानालाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गरेका हुन्।
उपाध्यक्ष डा. लामाले राजदूत पाथिरानासँग लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गरे। उनले श्रीलंका बुद्धिस्ट राष्ट्र रहेकाले भैरहवा विमानस्थलमा सीधा उडान गर्दा बुद्ध जन्मस्थल लुम्बिनी आउन निकै सहज हुने बताए।
सो अवसरमा एयर फोर्स चिफसमेत रहेर काम गरिसकेका राजदूत पाथिरानाले गौतम बुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडान हुने प्रतिबद्धता जनाए।
लुम्बिनीजस्तो पवित्र स्थान आउन धेरै श्रीलंकाली इच्छुक हुने गरेको बताउँदै उनले सीधा उडान गरेर आउने व्यवस्थाका लागि तत्काल काम गर्ने बताए। उक्त अवसरमा राजदूत पाथिराना र उपाध्यक्ष डा. लामाबीच लुम्बिनीको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकास, संरक्षण र संवर्द्धनका विषयमा सहकार्यका लागिसमेत छलफल भएको छ।
राजदूत पाथिरानाले शनिबार लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शनसमेत गरेका छन्। कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदूत पाथिरानालाई लुम्बिनीको महत्त्व, यसको पछिल्ला विकासलगायतका विषयमा जानकारी गराएका थिए।
राजदूत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भीम बस्नेतलगायतले समेत स्वागत गरेका थिए। राजदूत पाथिरानाले लुम्बिनीसँगै भैरहवास्थित गौतम बुद्ध विमानस्थलको समेत भ्रमण गर्नेछन्।