बरहथवा घटनाप्रति कांग्रेसको ध्यानाकृष्ट

शनिबार, २१ पुष, २०८०
डिजिटल संस्करण

सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको, केही व्यक्ति घाइते भएको र त्यसपछि उत्पन्न परिस्थितिको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको  जनाएको हो । 

कांग्रेसले मृतकप्रति  श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।  घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ । 

साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहनसमेत अपिल गरेको छ । 

सुझावित समाचार