शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राममा दोस्रो रामग्राम महोत्सव सुरु भएको छ।
संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले महोत्सवको शुक्रबार उद्घाटन गरेका हुन्।
बुद्धिष्ट सोसाइटी, लुम्बिनी विकास कोषसहितको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपाध्यक्ष डा. लामाले बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तूपमध्ये उत्खनन नभई अस्तु सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम भएको भन्दै संसारभर रहेका बौद्धमार्गीको साझा सम्पत्ति रहेको बताए।
करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको रामग्राम स्तूप इँटाले बनेको छ। बौद्धग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतम बुद्धको महापरिनिर्वाण भएपछि उनको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्तिधातुको संज्ञा दिएको भन्ने भनाइ पाइन्छ।
बुद्धको महापरिनिर्वाणपश्चात् बुद्धको अस्तुधातु आठ भाग लगाइएको र त्यसमध्येको एक भाग रामग्राग रहेको मानिन्छ। मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वैप्दिप, पावा र कुशीनगरलाई अस्थि बाँडिएको थियो।
बुद्धको मावलीतर्फका प्राचीन कोलीय गणराज्य (रामग्राम)का राजाले आफ्नो भागमा पाएको अस्थि ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेको मान्यता छ।