हुम्लाको सर्केगाड गाउँपालिका– १ स्थित जैरको छिडिनता सामुदायिक स्वास्थ्य इकाइमा साउनयतादेखि तालाबन्दी गरिएको छ । तत्कालीन कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री दल रावल मन्त्री भएको वेला स्थापना भएको सामुदायिक स्वास्थ्य इकाइमा पालिकाले स्वास्थ्यकर्मी र औषधि व्यवस्था नगरेपछि ताला लागेको हो ।
स्वास्थ्यकर्मी र औषधिको व्यवस्था नभएकाले साउन महिनादेखि तालाबन्दी भएको सर्केगाड गाउँपालिका– १ छिडिनताका मंगल्या कार्मीले जानकारी दिए । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष चन्द्रसिहं कार्कीलाई स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको कार्मीले दुःखेसो पोखे ।
दुई सय पाँच घरधुरी भएको छिडिनाता स्थानीयहरूले बिरामी हुँदा औषधि उपाचार गर्ने पैदल जैर स्वास्थ्यचौकी दुई घन्टा र निजी मेडिकल भएको बालुकुना तीर्थसैना पुग्न तीन घन्टाको समय खर्चिन बाध्य भएको कार्मीले नयाँ पत्रिकासँग गुनासो गरे ।
सिटामोल पाउन मुस्किल
सामान्य रुघाखोकी, ज्वरो, टाउकाे दुखेको समय पनि सामान्य सिटामोलसमेत पाउन मुस्किल भएको छ । साउन महिनादेखि सामुदायिक स्वास्थ्य इकाइ बन्द भएपछि सिटामोलको (टाटो) देख्न पाएका छैनौँ मंगल्या कार्मीले बताए । रुघाखोकी, ज्वरो, जटिल बिरामी भएपछि दुई घन्टा उकालो पैदल हिँडेर जैर स्वास्थ्यचौकी र बालुकुना, तीर्थसैना मेडिकलसम्म पुग्न बाध्य भएको उनले बताए ।