पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु भएको छ । ‘कृषि यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नारासहित पोखरामा शुक्रबारदेखि ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी २०८०’ सुरु भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय–पोखरा मालेपाटन, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा हुने तीनदिने प्रदर्शनी २२ पुससम्म चल्नेछ।
प्रदर्शनीको उद्देश्य
आयोजक संघका अध्यक्ष कृष्ण शर्माका अनुसार विशेषगरी मुख्य सात उद्देश्य लिएर प्रदर्शनी आयोजना हुन लागेको हो । एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरू तथा सेवाहरूबारे जानकारी गराउन, नीति निर्माता, पेसागत समूह, अनुसन्धानकर्ता, कृषकलगायतका सरोकारवालाहरूलाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउन, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुर्याउन, कृषि यान्त्रीकरण व्यवसायी र कृषकबीच कार्यगत समन्वय गर्न, लगानीको अवसर सिर्जना गर्न, कृषि यन्त्र तथा प्रविधिसम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञ र कृषकबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्न, नेपालको कृषिलाई यान्त्रीकरणमार्फत व्यवसायीकरण गरी प्रतिस्पर्धी तथा आधुनिक कृषि प्रणालीको विकास गर्ने रहेको शर्माले जानकारी दिए ।
संघले यसअघि ०७० सालमा चितवनको नारायणगढमा, ०७२ मा नेपालगन्जको कोहलपुरमा, सन् २०१७ मा काठमाडौंमा, ०७४ मा धरानमा र पुन: ०७८ मा चितवनको भरतपुरमा गरी पाँचपटक यस्तै प्रदर्शनी गरिसकेको शर्माले बताए ।
६० बढी प्रदर्शनकर्ताले एक हजार बढी उपकरण तथा प्रविधिबारे जानकारी दिने
तीनदिने प्रदर्शनीमा ६० बढी प्रदर्शनकर्ताले भारत, जापान, चीन, इन्डोनेसियालगायत १० भन्दा बढी देशका कृषि औजार, उपकरण तथा प्रविधिहरूबारे अवलोकनकर्तालाई जानकारी दिनेछन् ।
प्रदर्शनीमा एक हजारभन्दा बढी आधुनिक उपकरण एवं आधुनिक प्रविधिको जानकारी पाउने प्रदर्शनीमा पाँच करोडभन्दा बढीको कारोबारसँगै ४० जिल्लाका ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।
योसँगै ‘मेड इन नेपाल’को छुट्टै स्टलसमेत रहने प्रदर्शनीमा कृषि यान्त्रीकरण प्रवर्द्धनसम्बन्धी गोष्ठी र सेमिनार, रैथाने बालीका परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षणसम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षणसम्बन्धी छलफल तथा अन्तर्क्रियासमेत हुने कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले जानकारी दिए ।
उनले कृषि पेसाबाट बढी फाइदा लिनका लागि यान्त्रीकरणमा जोड दिन आवश्यक रहेको बताए । यान्त्रीकरणको प्रयोगबाट लागत खर्च घट्ने भएकाले खर्च घटाउने प्रमुख माध्यम नै यान्त्रीकरण रहेको बताए । हाल गण्डकीमा जग्गा चक्लाबन्दीको कार्यक्रम भइरहेकाले तिनीहरूका लागि समेत यान्त्रीकरण आवश्यक रहेकाले प्रदेश सरकारले यसकाे लागि कृषकलाई विभिन्न सहयोग गरिरहेको जानकारी दिए ।
पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले गाउँ–सहरका बाँझा जमिनमा खेतीका लागि यान्त्रीकरणले सहयोग गर्ने बताए । रैथाने बालीहरूको संरक्षण गर्दै यान्त्रीकरणमार्फत कृषिबाट देशमा नै रोजगारी सिर्जना गर्ने गरी काम गर्न आवश्यक रहेकोमा उनको जोड थियो ।