कुकुरको टोकाइले खाद्य कम्पनीका २३ च्यांग्रा मरे, १४ घाइते

शुक्रबार, २० पुष, २०८०
डिजिटल संस्करण
कुकुरको टोकाइले खाद्य कम्पनीका २३ च्यांग्रा मरे, १४ घाइते

कुकुरको टोकाइबाट मरेका च्यांग्रा । तस्बिर सौजन्य : एलबी शाही

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयको खोरमा राखेका २३ वटा च्यांग्रा भुस्याहा कुकुरको टोकाइबाट मरेका छन् । १४ गम्भीर घाइते अवस्थामा छन् । १० वटा च्यांग्रा भने कुकुरको आक्रमणबाट बचेका कारण सकुशल छन् । 

सहरको मध्यभागमा रहेको सरकारी कार्यालयको सुरक्षा घेरामा रहेका च्यांग्रा बुधबार राति १ बजे कुकुरको आक्रमणमा परेका थिए । सिसिटिभी फुटेजको दृश्यमा थापाथलीस्थित खाद्य कम्पनीको मुख्य गेटबाटै प्रवेश गरेका चारवटा कुकुरले करिब चार घन्टासम्म खोरमा रहेका च्यांग्रालाई लखेटी–लखेटी मारेको देखिएको भेटेरिनरी पशु चिकित्सक डा. एलबी शाहीले जानकारी दिए ।

कुकुरको टोकाइबाट मरेका र घाइते अवस्थामा रहेका च्यांग्राको स्वास्थ्य परीक्षण गर्न बिहीबार बिहान थापाथलीस्थित खाद्य कम्पनीको कार्यालय पुगेका केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका भेटेरिनरी पशु चिकित्सक डा. शाहीका अनुसार खोरभित्र चारवटा कुकुर छिरेर घाँटी र खुट्टामा चिथोरेर मारेको भेटिएको छ । ‘मरेका च्यांग्राको स्वास्थ्य परीक्षण रिपोर्ट साँझ आएको छ । च्यांग्रामा रेबिज भने देखिएन,’ उनले भने, ‘सिसिटिभी फुटेजको दृश्य हेर्दा कुकुरले लखेटी–लेखेटी घाँटीमा टोकेर मार्ने र छाड्ने गरेको देखिन्छ । सिकारीले झैँ झम्टेर मारेका छन् ।’ गम्भीर घाइते १४ च्यांग्राको पनि बाँच्ने सम्भावना कम रहेको उनले बताए । पछिल्लो समय च्यांग्राहरू खुला चौरमै रात बिताउने गरे पनि खाद्य कम्पनीका कर्मचारीले चासो दिएका थिएनन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले अप्रत्याशित रूपमा कुकुर प्रवेश गरी च्यांग्रा मारेको बताए । ‘कार्यालयको पछाडिपट्टि रहेको सानो गेटबाट कुकुर प्रवेश गरेर च्यांग्रालाई टोकेर मारेको अवस्था छ,’ उनले भने, ‘एउटा खाएर गएको भने पनि हुने थियो, तर चौरमा रहेका सबैको घाँटीमा टोकेर मारेको छ ।’ 

बजार माग विश्लेषण नगरी ल्याउँदा बिक्री भएनन् च्यांग्रा
खाद्य कम्पनीले गत दसैँमा १९ सय खसी–बोका र हिमाली जिल्लाबाट पाँच सय ४६ च्यांग्रा काठमाडौं ल्याएको थियो । दसैँमा खसी–बोका र च्यांग्रा खरिदका लागि संस्थानले आठ करोडभन्दा बढी बजेट विनियोजन गरेको थियो ।

खसी–बोका दसैँ र तिहारमा बिक्री भए पनि ४७ च्यांग्रा बिक्री नभएर थापाथलीस्थित गोदाममै राखिएका थिए । यी च्यांग्रा बिक्रीका लागि बोलपत्र आह्वान गरिए पनि बिक्री नभएपछि गोदाममै राखिएको थियो । गत वर्षको दसैँमा डेढ सय च्यांग्रा ल्याएको र सबै बिक्री भएपछि यसपटक बढाएर पाँच सय ४६ वटा ल्याइएको थियो, तर बिक्री नै भएनन् । 

कम्पनीले च्यांग्रा बिक्रीका लािग पटक–पटक मूल्य घटाउँदै आएको थियो । दसैँको सुरुवातमा प्रतिकिलो १२ सय ५० रुपैयाँ निर्धारण गरेकामा उपभोक्ताको आकर्षण नभएपछि केही दिनमै २५ रुपैयाँ घटाएर प्रतिकिलो १२ सय २५ रुपैयाँ निर्धारण गरिएको थियो । तिहारपछि प्रतिकिलो ११ सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो, तर च्यांग्रा बिक्री भएनन् । 

सुझावित समाचार