भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट इतिहासमै छिटो सकिएको छ । केपटाउनमा भारतले दोस्रो दिनको दोस्रो सेसनमा दक्षिण अफ्रिकालाई सात विकेटले हराएको छ । जितसँगै भारतले सिरिज १–१ को बराबरी गरेको छ । यो टेस्टको नतिजा समग्रमा ६ सय ४२ बल खेल्दा निस्किएको थियो । यसअघि सन् १९३२ मा मेलबर्न मैदानमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल ६ सय ५६ बलमा सकिएको थियो । सन् १९३५ मा इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको खेलको नतिजा ६ सय ७२ बल खेल्दा आएको थियो ।
सन् १८७७ मा टेस्ट खेल सुरु भएको थियो । अहिलेसम्म दुई हजार पाँच सय २२ टेस्ट भएका छन् । जसमध्ये २५ टेस्ट मात्र दुई दिनमा सकिएका छन् । भारतले चौथो इनिङ्समा जितका लागि ७९ रनको सामान्य लक्ष्य पाएको थियो । भारतले १२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । भारतका लागि यशस्वी जैसवालले २३ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक २८ रन बनाए । दक्षिण अफ्रिकाका मार्को जान्सन, नान्द्रे बर्गर र कागिसो रबडाले समान एक विकेट लिए ।
यसअघि पहिलो इनिङ्समा दक्षिण अफ्रिका ५५ रनमै अलआउट भएको थियो । भारत पहिलो इनिङ्समा १५३ रनमा समेटिएको थियो । दक्षिण अफ्रिका दोस्रो इनिङमा १७६ रनमा अलआउट भएको थियो । दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा ७८ रनको अग्रता लिएको थियो ।
दक्षिण अफ्रिकाका ओपनर एडेन मारक्रमले १०३ बलमा १७ चौका र २ छक्काको सहयोगमा १०६ रनको योगदान दिए । भारतका जसप्रीत बुमराहले ६ विकेट लिए । पहिलो इनिङ्समा भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाएका थिए । भारतका मोहम्मद सिराजले ६ विकेट लिए । पहिलो दिनमा समग्रमा २३ विकेट पतन भयो ।