उहिल्यै नेपालको चारकोसे झाडीमा जहिल्यै हराभरा रहने घना जंगल थियो । जंगलभित्र अनेकौँ सानाठूला नदी, खोला र खहरे बग्थे । जंगलमा अनेकाैँ जीवजन्तु बस्थे । एउटा सुबुद्धि नामको सिंह जंगलको राजा थियो । सम्बुद्धि नामको नीतिवान् राजहंस उसको मुख्यमन्त्री थियो ।
जंगलबाहिर एउटा गाउँ थियो । गाउँमा खानलाउनसमेत धौधौ पर्ने एउटा अति गरिब ब्राह्मण परिवार थियो । एक दिन ऊ काठमाडौं गई धन कमाएर ल्याउने विचारसाथ घरबाट हिँड्यो । काठमाडौं पुग्न चारकोसे झाडी पार गर्नुपर्थ्यो । ऊ, झाडीको प्रवेशद्वारमा पुग्यो । उसले त्यहाँ मुख्यमन्त्री सम्बुद्धिलाई भेटेपछि आफ्नो सम्पूर्ण दुःखको कहानी सुनायो । सम्बुद्धिले राजा सुबुद्धिलाई सबै कुरा सुनाएर
ब्राह्मणको भेट गराइदियो । राजाले ब्राह्मणलाई सुनका केही गहना दिए । गहना पाएपछि ब्राह्मण खुसी हुँदै त्यहीँबाट फर्किए । उनले सित्तैँमा पाएको सम्पत्ति हुरलदुरल गर्दागर्दै केही समयमा सिध्याए ।
सम्पत्ति सिद्धिएपछि उनी फेरि जंगलका राजालाई भेट्न गए । तर, यतिखेरसम्ममा मुख्यमन्त्री सम्बुद्धिको मृत्यु भइसकेको थियो । एउटा दुर्मुख नामको काग मुख्यमन्त्री बनेको थियो । उसले ब्राह्मणलाई देख्नासाथ ‘काँ काँ’ गरेर राजालाई सूचना दियो । सूचना पाउनासाथ सुबुद्धि पनि गर्जिंदै त्यहीँ आइपुग्यो । प्रवेशद्वारमा ब्राह्मणलाई देख्नासाथ राजा सुबुद्धिले भन्यो– ब्राह्मणराज, तिमी पक्कै फेरि पनि केही सहयोग पाउने आशाले आएका हौला । तर, कसैले पनि सधैँ सहयोग गर्न सक्दैन । आफ्नो आवश्यकता आफ्नै परिश्रमले पूरा गर्नुपर्छ । फेरि अहिले यहाँ सम्बुद्धि होइन, दुर्मुख मुख्यमन्त्री छ । त्यसैले आफ्नै गाउँघर फर्केर परिश्रम गर, पक्कै सुख पाउनेछौ ।