जन्तेढुंगामा निर्माणाधीन अस्पतालको गुणस्तरहीन संरचना भत्काउन थालियो

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण

जन्तेढुंगा गाउँपालिकाले वडा नं. ५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणका क्रममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको पाइएपछि उक्त निर्माणाधीन संरचना भत्काउन ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ।

पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीका ठेकेदारले बढी नाफा कमाउने उद्देश्यले भवनको जगमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा भेटिएपछि मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त संरचना भत्काएर गुणस्तरीय काम गर्न निर्देशन दिएको हो।

निर्माणाधीन अस्पताल भवनको लागि जग सम्याएर पिल्लर ठड्याउने काममा ठेकेदारले खुटा भन्ने ठाउँबाट बलौटे माटो ल्याएर प्रयोग गरिहेको स्थानीय बासिन्दाले आरोप लगाएपछि निर्माणाधीन संरचना भत्काएर पुनः गुणस्तरीय काम गर्न निर्देशन दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिइन्।

‘करिब दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने अस्पताल भवनको हाल पिल्लर ठड्याउने काम मात्र हुँदै थियो। ठेकेदारको लापरबाहीले गुणस्तरहीन संरचना निर्माण भइरहेको रहेछ। हामीले कार्यपालिकाको बैठक नै बसेर भत्काउन निर्देशन दिएका हौँ,’ उनले भनिन्, ‘गाउँपालिकाको निर्देशनलगत्तै ठेकेदारले निर्माण सम्पन्न भएका संरचनाहरू भत्काउन थालेका छन्। गुणस्तरमा लापरबाही गर्ने ठेकेदारलाई निगरानीमा राखेका छौँ।’

चिसापानीमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो। तर, सो जेभी निर्माण कम्पनीले अस्पताल भवनको काम सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा दिएको जनाइएको छ।

निर्माणाधीन अस्पताल भवनमा कमसल सामान प्रयोग गरेको पाइएकाले यही पुस ११ गते पिसिसी ढलान भत्काउने मौखिक सहमति गरे पनि ठेकेदार कम्पनीले उक्त सहमति पालना नगरेको स्थानीय सुमन राईको दाबी छ। ‘गुणस्तरहीन काम भइरहेको जनगुनासो आएपछि हामी अनुगमनमा गएका थियौँ। ठेकेदार र गाउँपालिकाको इन्जिनियरको उपस्थितिमा गुणस्तरहीन तरिकाले निर्माण गरिएका संरचना भत्काउने सहमति भएको थियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुणस्तरहीन संरचना भत्काउने कुरा त होइन निरन्तर काम भइरहेको पाइयो। त्यहाँ न त गाउँपालिकाको प्राविधिककै उपस्थिति छ, न त जनप्रतिनिहरुको अनुगमन नै ! कमसल सामान प्रयोग गरेर निर्माण भैरहेको संरचना भत्काएर गुणस्तरीय सामान प्रयोग गरी पुनः निर्माण गरियोस्। हामी जन्तेढुंगावासी उपभोक्ता सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौँ।’

निर्माणाधीन अस्पतालको जगमा पिसिसी ढलानका लागि ठेकेदार कम्पनी सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर सुरेशकुमार मेहताले बताएका छन्। ‘गाउँपालिकाकोतर्फबाट ल्याब टेस्ट (गुणस्तर परीक्षण) नगरी प्रयोग नगर्न भने पनि ठेकेदारले मौका पारेर बारीको बालुवा मिसाएर प्रयोग गरेका रहेछन्। गुणस्तरमा शंका लागेपछि बारीबाट उठाइएको बालुवा र सावा खोलाको बालुवा ल्याब टेस्टमा पठाइएको थियो। ल्याब टेस्टमा बारीको खानीको बालुवा फेल भएको रिपोर्ट आएको छ,’ उनले भने।

सबइन्जिनियर मेहताले थपे, ‘सुरुमा स्याम्पल देखाउनुभयो। ल्याब टेस्टमा पास भए मात्र ल्याउनु भनेका थियौँ। तर, ल्याएर प्रयोग गरेछ। हतार गएर बालुवा झार्न रोक लगायौँ। बीचमा अस्पताल भवनकै काममा काठमाडौं जानुपर्यो। त्यही वेला बालुवा मिसाएर चलाइदिएछ। यहीबाट समस्या आएको हो।’

कुल रु. २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने निर्माणाधीन अस्पताल भवन २०७७ मंसिर १५ गते तत्कालीन प्रदेश सांसद (हाल प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’ले शिलान्यास गरेका थिए। निर्माणाधीन अस्पताल भवन निर्माणको काम ठेकेदार कम्पनीले तोकिएको समयमा सम्पन्न नगरेपछि पुनः अर्को म्याद थपको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

सुझावित समाचार