बागमती प्रदेश सरकारले सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने योजनासहित सोमबार हेटौँडामा प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भ गरेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले भ्रमण वर्षको औपचारिक सुरुवात गरेका हुन् ।
मन्त्री महर्जनले प्रदेशमा रहेका पर्यटकीयस्थल र सम्भावनाहरूको पहिचान, संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरी पर्यटकीय गतिविधिलाई अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश भ्रमण वर्ष–२०२४ को शुभारम्भ गरेको बताए । भ्रमण वर्षभरि प्रदेशभित्र पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरिने उनको भनाइ थियो । उनले भने, ‘प्रदेशका पर्यटकीय स्थलहरूमा पर्यटक आवागमन बढाउन पर्यटन प्रवद्र्धनका काम गर्ने योजना छ ।
पर्यटनलाई नागरिकको आर्थिक क्रियाकलापसँग जोडेर प्रदेशमा अर्थतन्त्रलाई समेत गतिशील बनाउने उद्देश्य रहेको छ ।’ मन्त्री महर्जनले पर्यटनलाई प्रदेशको आम्दानीको स्रोत बनाउने गरी प्रदेश सरकारले नीति बनाउने दाबी गरे । उनले विश्व सम्पदा सूचीमा समावेश भएका प्रदेशका ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको उचित संरक्षण र प्रचारप्रसार गरी आगामी दिनहरूमा धेरैभन्दा धेरै पर्यटकले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नु भ्रमण वर्षको मूल उद्देश्य रहेको बताए ।
विगतमा कोभिड–१९ को महामारी तथा अन्य विभिन्न कारणले सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जीवन्त र गतिशील बनाउन प्रदेश भ्रमण वर्ष २०२४ कोसेढुंगा सावित हुने मन्त्री महर्जनले विश्वास व्यक्त गरे । भ्रमण वर्षमा पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम गर्न प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयका सचिव गोविन्द रिजालले जानकारी दिए ।
भ्रमण वर्ष सफल बनाउन श्रव्यदृश्य सामग्री उत्पादन तथा विभिन्न सञ्चारमाध्यमबाट प्रसारण गर्ने, प्रदेशका प्रमुख गन्तव्य समेटिएको पुस्तक तथा ब्रोसर तयार गर्ने, पर्यटन वर्षका विभिन्न टिसर्ट, ज्याकेट, स्टिकरलगायत प्रचार सामग्री उत्पादन तथा वितरण गर्ने, पर्यटकीय नक्सा तयार गर्नेलगायतका कार्यक्रम तय गरिएको उनको भनाइ थियो ।