गत वर्ष १ फागुनमा काठमाडौंको गोंगबुमा प्रदर्शनकारीले प्रहरीकै गाडी जलाइदिए भने ल्होत्से मलमा लुटपाट गरे । देशको राजधानीमै लुटपाट गरिँदा र प्रहरीको गाडीमै आगजनी हुँदा पनि सुरक्षामा चुकेको भन्दै प्रहरी आलोचित भयो । केही प्रहरी अधिकारी कारबाहीमा पनि परे ।
शुक्रबार ललितपुरको बालकुमारी–ग्वार्को क्षेत्रमा त्यस्तै भयो । दुवै घटनाको समानता के छ भने दुवै प्रदर्शनको नेतृत्व कसैले गरिरहेका थिएनन् । गोंगुबमा यातायातका मजदुरले स्वस्फूर्त रूपमा प्रदर्शन गरेका थिए भने बालकुमारीमा कोरिया जाने परीक्षा दिन नपाएका युवा भड्किएर आन्दोलनमा उत्रिएका थिए । कुनै पनि व्यक्तिले नेतृत्व नगरेको आन्दोलन जतिसुकै वेला भड्किएर हिंसात्मक बन्न सक्छ भन्ने विश्लेषण गर्न नसक्दा दुवै घटनामा प्रहरी आलोचित बनेको छ ।
गोंगबुको घटनामा समयमै बल प्रयोग नगर्दा प्रहरी आलोचित बनेकोमा शुक्रबार भने अत्यधिक बल प्रयोग गरेकोमा प्रहरीमाथि छानबिन भइरहेको छ । शुक्रबार आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकले ज्यान गुमाएका छन् । घटनाको विषयमा छानबिन गर्न सोमबार जाँचबुझ आयोग गठन भएको छ ।
विगतमा पनि भिड नियन्त्रणमा प्रहरी बारम्बार चुक्दै आएको छ । गत असोजमा पोखराको मणिपाल अस्पतालमा आन्दोलन हुँदा प्रहरीले चिकित्सकमाथि निर्मम कुटपिट गरेको थियो । इन्स्पेक्टर मदन श्रेष्ठले अस्पतालभित्रै चिकित्सकमाथि कुटपिट गरे । बिरामीको मृत्यु भएपछि आन्दोलन भइरहेको अवस्थामा प्रहरीले आन्दोलनकारीलाई खुसी बनाउन चिकित्सकमाथि बल प्रयोग गरेको थियो । जुन घटनामा इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरी छानबिन चलिरहेको छ । सो घटनापछि देशभरका चिकित्सकले आन्दोलन गरेका थिए ।
गत साउन तेस्रो साता काठमाडौंको टेकुमा प्रहरी कार्यालय घेराउ गर्न गएका व्यक्तिमाथि पनि अत्यधिक बल प्रयोग गर्दा प्रहरी विवादमा पर्यो । गत वर्ष वैशाखमा मिटरब्याजपीडितमाथि रत्नपार्कमा प्रहरीले निर्मम कुटपिट गरेपछि गृहमन्त्रीले नै माफी माग्नुपर्यो । माइतीघर–बानेश्वर क्षेत्रमा हुने प्रदर्शनमा पनि पटक–पटक प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग हुने गरेकोमा प्रहरी विवादमा पर्दै आएको छ ।
फिल्डमा खटिने प्रहरीको आत्मविश्वासमा कमी हुँदा पनि कहिलेकाहीँ अनावश्यक बल प्रयोग हुन सक्ने नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकालको विश्लेषण छ । प्रहरीलाई फिल्डमा स्पष्ट आदेश र उच्च मनोबलका साथ खटाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । ‘भिड नियन्त्रणको सिद्धान्तअनुसार फिल्डमा काम हुनुपर्छ,’ उनी भन्छन्, ‘यसका लागि प्रहरीलाई स्रोत, साधन र तालिम पुगेको छैन ।’ तर, कुनै घटनामा छानबिन नै नगरी निलम्बन गर्ने प्रवृत्तिले भोलिका दिनमा फिल्डमा थप समस्या आउन सक्ने उनको भनाइ छ ।
पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी प्रहरी आफैँ राज्यबाट पीडित भएकाले त्यसको असर भिड नियन्त्रणमा देखिने गरेको बताउँछन् । ‘बालकुमारीको घटना राज्यबाट पीडित भएका प्रहरी र बेरोजगार युवाबीचको झडप हो, यहाँ दुवै पीडित पक्ष छन्,’ उनले भने, ‘प्रहरीको मनोबल उच्च बनाउन राजनीतिक नेतृत्वबाट हस्तक्षेप बन्द गर्नुपर्छ ।’ राजनीतिक कारणले नै समाजमा वितृष्णा बढ्दै गएको र त्यो असन्तुष्टि सडकमा पोखिने भएकाले आगामी दिनमा भिड व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै जाने भण्डारी बताउँछन् ।
सुरक्षाविद् नारायण अधिकारी प्रहरीलाई भिड नियन्त्रणसम्बन्धी तालिम र आवश्यक सामग्रीको व्यवस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउँछन् । भिड नियन्त्रणमा पछिल्लोपटक देखिएको कमजोरीका पछाडि धेरै कारण रहेको र तीमध्ये एउटा प्रहरीको खस्किएको मनोबल भएको उनको बुझाइ छ । ‘त्यसकारण यस्ता घटनाको विषयमा प्रहरीमाथि मात्र नभई सबै निकायमाथि छानबिन हुनुपर्छ,’ उनले भने ।
कतिपय अवस्थामा अन्य निकायसँग समन्वयको अभावले पनि क्षति हुने गरेको छ । भिड नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बल हरेक जिल्लामा खटिएको छ । तर, समयमै समन्वय नहुँदा पनि कतिपय घटनामा बढी क्षति हुने गरेको छ । शुक्रबारको घटनामा पनि सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले दिएको विश्लेषणलाई प्रहरीले गम्भीरताका साथ नलिएको आरोप लागेको छ ।