एपिएफ महिला पिएम कपको फाइनलमा

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण

एपिएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वालिफायर्समा कोशी प्रदेशमाथि ५२ रनको सहज जित निकाल्दै एपिएफ उपाधिनजिक पुगेको हो । कोशीले दोस्रो क्वालिफायर्समा सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । यस खेलको विजेताले एपिएफविरुद्ध खेल्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोशीले २० ओभरमा चार विकेट गुमाउँदै मात्र ८७ रन बनाउन सक्यो । कोशीको अप्सरा वेगमले सर्वाधिक ३१ रन बनाइन् । उनले ४८ बलमा दुई चौका र एक छक्का प्रहार गरेकी थिइन् । कप्तान रुविना क्षेत्रीले २२ र ललिता राजवंशीले १४ रनको योगदान गरे ।  

इन्दुको बलियो साझेदारी
एपिएफको ब्याटिङमा तेस्रो विकेटका लागि इन्दु बर्मा र रोमा थापाले अविजित ५८ रनको साझेदारी गरेपछि एपिएफ बलियो स्थितिमा पुगेको थियो । टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १३९ रन बनायो । इन्दुले ५० बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको योगदान गरिन् । कप्तान सीता रानामगरले ४५, रोमा थापाले अविजित १८ र ज्योति पाण्डेले १२ रन बनाए । कोशीकी रुविना क्षेत्रीले एक विकेट लिइन् । सुदूरपश्चिमले कोशीसँग खेल्ने
सुदूरपश्चिमले फाइलनमा स्थान बनाउन पहिलो क्वालिफायर्समा पराजित कोशी प्रदेशसँग खेल्ने भएको छ ।

आइतबार नै भएको इलिमिनेटरमा सुदूरपश्चिमले बागमती प्रदेशमाथि नौ विकेटको सहज जित निकालेको हो । इलिमिनेटरमा बागमतीले प्रस्तुत गरेको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमकी विन्दु रावलले अर्धशतकीय इनिङ्स खेलिन् । उनले ४९ बलमा ७ चौकासहित अविजित ५४ रन बनाइन् । सम्झना खड्काले अविजित २१ र रुबी पोद्दारले १८ रनको योगदान दिए । दोस्रो विकेटका लागि विन्दु र सम्झनाले अविजित ५७ रनको साझेदारी गरेका हुन् । 

बागमतीको कमजोर ब्याटिङ
टस जितेर ब्याटिङ रोजेको बागमतीले कमजोर प्रदर्शन गरेको थियो । बागमतीले १९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९९ रन बनाउन सक्यो । बागमतीकी कञ्चन श्रेष्ठले ३६, सोनी पाख्रिनले १४ तथा हेलिशा गुरुङ र खुसी डंगोलले समान १० रन बनाएका थिए । सुदूरपश्चिमकी करिश्मा थापाले सर्वाधिक तीन विकेट लिइन् । लक्ष्मी साउद र कप्तान ऋतु कनोजियाले समान दुई विकेट लिएका छन् ।  

See More On

सुझावित समाचार