हामीकहाँ चल्दै आएको संसद्को अधिवेशनबारे के भन्नुहुन्छ ?
वर्ष २०२४ को संसदीय क्यालेन्डरअनुसार ब्रिटेनमा ६ पटकमा ६० दिन स्थगित हुनेबाहेक संसद्को अधिवेशन वर्षैभरि चलिरहनेछ । भारतको संविधानमा वर्षको एकपटक संसद्को अधिवेशन हुने लेखिए पनि तीनपटक हुने परम्परा छ (पहिलो १२ हप्ता, दोस्रो र तेस्रो ३ र ३ हप्ताको) । नेपालमा भने २०१६ सालमा संसदीय व्यवस्था प्रारम्भ भएदेखि नै संसद्को अधिवेशन वर्षमा दुईपटक हुने तर यसको अवधि पूर्वनिर्धारित नगरी सरकारको सुविधामा चल्ने गरेको छ । राष्ट्रिय व्यवस्थापिकाको नाम ५ पटक फेरिसके पनि लक्ष्यप्राप्तिको कार्यतालिका र समयावधि तोकेर संसद्को अधिवेशन सुरु गर्ने परम्परा बसेकै छैन ।
यसमा कमजोरी कहाँ भयो ?
ब्रिटिस प्रतिनिधिसभामा सदस्य संख्या ६५० भए पनि बस्ने ठाउँ ४२७ जनालाई मात्रै छ । बस्ने ठाउँ नपाएका सदस्य उभिएर महत्वपूर्ण बैठकमा भाग लिन्छन् । भौतिक सुविधा नभए पनि कार्यतालिका पूर्वनिर्धारित र बैठक व्यवस्थित हुन्छ । नेपालमा बस्ने ठाउँ पर्याप्त भए पनि नेताहरूकै उपस्थिति तथा उत्पादकत्व न्यून छ । अधिवेशनलाई कर्मकाण्डमा अलमल्याइएको छ । यसैले संसद्मा जनआकांक्षाको स्पन्दन अनुभूत नहुँदा राज्य र नागरिकबीच दूरी बढिरहेको छ ।
संसद्को अधिवेशनलाई कसरी सार्थक बनाउने त ?
यहाँनिर सन् १८८९ मा स्थापित प्रजातान्त्रिक देशहरूको विश्वसंस्था अन्तर व्यवस्थापिका संघ (आइपियू) कोे मेक्सिको अधिवेशन १९८६ सम्झन चाहन्छु । मेरै अध्यक्षतामा बसेको यसको साइडलाइन बैठकले ‘जनप्रतिनिधिले संस्थागत रूपमा जनमत र आकांक्षालाई आवाज दिने, प्रजातान्त्रिक शासकीय संस्कारको विकास तथा संसद्प्रति आमजनताको श्रद्धा र भरोसा बढाउनुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । आफैँले सहमति जनाएका यी सूत्रलाई जीवन्त बनाउने शैली र कार्यतालिकाबाट अधिवेशन सञ्चालन हुने र संसदीय क्यालेन्डरबाट अधिवेशन निर्देशित हुने परम्परा बसाल्नुपर्छ ।