आर्थिक अभावमा रोगको पहिचानसमेत गर्न नपाएका नगर क्षेत्रका असहाय गरिब विपन्न परिवारलाई लक्षित गरी सप्तरीको सुरुंगा नगरपालिकाले जनतासँग मेयर कार्यक्रमअन्तर्गत शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
पाठेघर तथा स्तनको क्यान्सर जाँच, जनरल स्वास्थ्य सेवा, प्रयोगशाला र निःशुल्क औषधिसहितको शिविरमा पाठेघरको क्यान्सरसम्बन्धी तीनजना शंकास्पद बिरामी भेटिएको सुरुंगा नगर स्वास्थ्य शाखा प्रमुख दशन चौधरीले जानकारी दिए।

सुरुंगा- ४ स्थित स्वास्थ्य चौकी भवनमा आयोजित शिविरमा पाठेघर तथा स्तनको क्यान्सर जाँच गराएका दुई सय ४७ जना महिलामध्ये तीनजनामा क्यान्सरको आशंका गरिएको उनले बताए।
उनका अनुसार शिविरमा जनरल स्वास्थ्य सेवाअन्तर्गत एक सय ८५ ना पुरुषले जाँच गराएका छन्। पछिल्लो वर्ष नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको पाठेघर तथा स्तनको क्यान्सर जाँच शिविरमा जाँच गराएका एक सय ३४ जनामध्ये एकजना महिलामा पाठेघरको क्यान्सर यकिन भएपछि उपचार चलिरहेको उनले बताए।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका डा. श्रीष श्रेष्ठ, डा.अनुषा श्रेष्ठ, डा. जगन्नाथ चौधरी, सुरुंगा नगर पालिकाकाका डा. शैलेन्द्रप्रसाद चौधरीसहित १८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले छुट्टाछुट्टै रूपमा पाठेघरको प्यापस्मियर, स्तनको गाँठो, सेतो पानी बग्ने समस्या भएका महिलाको पाठेघरको रसको नमुना संकलन र अन्य बिरामीको स्वास्थ्य जाँच गरेको उनले बताए।
‘शिविरमा जाँच गराएकामध्ये क्यान्सरको आशंका भएकाको रिपोर्ट आएपछि मात्र कुन चरणको क्यान्सर हो भन्ने यकिन हुन्छ,’ उनले भने, ‘बाँकीको पनि पाठेघरको प्यापस्मियरको रिपार्ट आएपछि यकिन हुन्छ।’
क्यान्सर यकिन भएका महिलाको क्यान्सर अस्पतालमा उपचारमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नगर प्रमुख गीता चौधरीले अस्पतालमा हुने उपचार, बेडको शुल्कमा सहुलियतका लागि समेत पहल गरिने बताइन्।
जग्गादाता परिवारको सम्मान
निःशुल्क स्वास्थ्य शिविर थालनीसँगै नगर प्रमुख चौधरी, उपप्रमुख रुद्रबहादुर कार्कीले आर्थिक वर्ष ०७४/७५ सालमा संघीय सरकारको अनुदानमा बनेको दुईतले स्वास्थ्य चौकी भवनको संयुक्त रूपमा उद्घाटन गरे।

उद्घाटनपछि स्वास्थ्य चौकी भवन निर्माणका लागि नौ कट्ठा जग्गा दान गरेका दाता सुरुंगा- ४ का दिवंगत ध्वजबहादुर खड्काका परिवारलाई नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले दोसल्ला ओढाएर सम्मान गरे।