स्टार सिटीलाई उपाधि

आइतबार, १५ पुष, २०८०
डिजिटल संस्करण

फारवेस्ट पशुपति कपको उपाधि साबिक विजेता स्टार सिटी युवा क्लब धनगढीले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको उपाधि भिडन्तमा इलाइट युवा क्लब कैलालीलाई ३–२ ले हराउँदै स्टार सिटीले उपाधि रक्षा गरेको हो ।

रोमाञ्चक रहेको खेलको पहिलो हाफको नौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्टार सिटीले अग्रता बनाएको थियो । इलाइटका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीलाई क्षितिज भण्डारीले गोल गरे । २६औँ मिनेटमा इलाइटले खेल बराबरीमा ल्यायो । स्टार सिटीका खेलाडीले बक्सभित्र पाउल गरेपछि प्राप्त पेनाल्टीलाई नोग्नाउले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए । 

३९औँ मिनेटमा विनोद केसीले गोल थप्दै इलाइटको अग्रता दोब्बर बनाए । तर, त्यो अग्रता तीन मिनेट पनि टिकेन । ४१औँ मिनेटमा स्टार सिटीका प्रदीप लामाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । ६७औँ मिनेटमा प्रदीपले व्यक्तिगत दोस्रो गोल गर्दै विजयी गोल गरेका हुन् ।

बाँकी समय दुवै टिमबाट केही राम्रो प्रहार भए पनि गोल हुन सकेन । दुई गोल गरेका लामा खेलको म्यान अफ द म्याच भए । उपाधिसँगै स्टार सिटीले नगद पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो सहभागितामै उपविजेता बनेको इलाइटले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । 

See More On

सुझावित समाचार