नेपथ्यले ल्यायो ‘पचासै वर्षमा’

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

लोक रक ब्यान्ड नेपथ्यले नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक गरेको छ । गीतमा ५० वर्षको अन्तरालमा समग्र समाजदेखि प्रविधिसम्मले ल्याएका फरक भोगाइलाई समेटिएको छ।

गायक अमृत गुरुङले गीतको प्रसंग झन्डै ६ वर्षअघि सुरु भएको बताए। ‘म ५० वर्ष पुगेको वेला तनहुँका अनिल अधिकारीले मलाई एउटा गीत सुनाए । त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो । त्यस परिकल्पनालाई विस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ । केही वर्षसम्मै लगाएर परिमार्जन गरेपछि गीत यस रूपमा उभिएको हो,’ उनले भने ।

पछिल्लो समय नेपथ्यका अन्य गीतजस्तै यस गीतको रेकर्डिङ पनि ब्यान्डलाई व्यवस्थापन गर्दै आएको नेपालयकै कालिकास्थानस्थित स्टुडियोमा गरिएको हो । त्यसका लागि प्राविधिक हिसाबबाट साउन्ड इन्जिनियर इमनविक्रम शाहले सघाएका  छन्।

गीतलाई नवीन जोशीले म्युजिक भिडियोका रूपमा ढालेका हुन् । नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक ‘रेसम’ गीतको म्युजिक भिडियो दुई दशकअघि बनाएका नवीनले ब्यान्डका लागि तयार पारेको यो दोस्रो म्युजिक भिडियो हो।

गीतको म्युजिक भिडियोमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई पनि देखाइएको छ । ‘नेपथ्यका नयाँ र पुराना झलकहरूलाई टेलिभिजन प्रविधिको विकासक्रम समेट्दै परिवर्तनशील समयको बिम्बका रूपमा प्रस्तुत गरेको छु,’ नवीन भन्छन् , ‘डब्बा आकारको टेलिभिजनको युगबाट सुरु भएको यात्रा पातलो हुँदै गएको स्क्रिन र अहिले प्रत्येकका हात–हातमा मोबाइल फोनबाट देखिने भिडियोसम्म लगेर जोडेको छु।’

नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको वेला ब्यान्डले यो नयाँ गीत सार्वजनिक गरेको हो।

See More On

सुझावित समाचार