प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले प्ले अफमा स्थान बनाएको छ । बागमतीले बिहीबार कर्णालीमाथि १० विकेटको जित निकाल्दै शीर्ष चारमा रहँदै अन्तिम चारको स्थान पक्का गरेको हो । यसअघि एपिएफ र कोशीले प्ले अफमा स्थान पक्का गरेका थिए । टस जितेर ब्याटिङ गरेको कर्णालीले १३.४ ओभरमा सबै विकेट गुमाएर ४२ रन मात्र बनाएको थियो । बागमतीले कुनै पनि विकेट नगुमाई ४.५ ओभरमै ४३ रन बनायो ।
बागमतीकी यशु पाण्डेले नटआउट २५ रन र हेलिसा गुरुङले नटआउट १३ रन बटुले । कर्णालीको ब्याटिङमा विना थापाले १२ र सुरती बुढाले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो रन नै बनाउन सकेनन् । बलिङमा बागमतीकी खुसी डंगोलले चार विकेट र संस्कृति फुँयालले दुई विकेट लिए ।
यसैगरी, प्रतियोगितामा एपिएफले लगातार छैटौँ खेलमा जित निकालेको छ । एपिएफले त्रिवि क्रिकेट मैदानमा गण्डकीलाई ५२ रनले पराजित गरेको हो । ६ खेलमा ६ जितका साथ एपिएफ शीर्ष स्थानमा छ । एपिएफले क्वालिफायर खेल्नेछ । एपिएफले पहिलो ब्याटिङ गरी २० ओभरमा तीन विकेट गुमाएर १२७ रन बनाएको थियो । एपिएफकी ममता चौधरीले सर्वाधिक ४० रन बनाइन् । उनले ३३ बलमा ६ चौका प्रहार गरिन् । रोमा थापाले ३१ र सीता रानामगरले १९ रन बनाए ।
गण्डकीले २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन मात्र बनाउन सक्यो । गण्डकीका सृष्टि जैसी र सुमन खतिवडाले समान १७ रन बनाए । ज्योत्सनिका मरासिनीले १३ र सिर्जना पौडेलले ११ रन बटुले । एपिएफकी नेरी थापाले सर्वाधिक चार विकेट लिइन् । सोनु खड्काले दुई र करुणा भण्डारीले एक विकेट लिए । हारसँगै गण्डकीको शीर्ष चारमा रहेर प्ले अफ खेल्ने सम्भावना सकिएको छ ।