मुगुको कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालय एक महिनाका लागि जाडो बिदा दिने निर्णय गरेको छ।
अत्यधिक जाडो बढेपछि पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि १५ माघसम्मका लागि गाउँपालिकाभित्रका उच्च हिमाली बस्तीहरू सेरोग, दोल्फु, ताखा, खारी, कार्तिक, किम्री, चितै, रिउस, मुगु, पुअ र दाउरालगायत गरी करिब एक दर्जन गाउँका विद्यालयमा बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए।
जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले एक महिनाका लागि माथिल्लो करानमा पठनपाठन बन्द गरिएको गाउपालिका अध्यक्षको भनाइ छ।
चिसो बढेसँगै मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्ला बस्ती मुगु, चितै, डोल्फु, कात्तिक, किम्री, तखा, खारीलगायतका बस्तीका बासिन्दा जाडो छल्न बेँसी झर्न थालेका छन्। यस्तै, गाउँपालिका– २ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकी पनि सदरमुकाम गमगढी सारिएको छ।