महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न आठ संस्थाहरूसँग छुटसम्बन्धी सम्झौता गरेको छ। बैंकले आफ्ना ग्राहकले धेरैभन्दा धेरै स्थानमा छुट सेवा प्राप्त गरून् भन्ने उद्देश्यसहित सम्झौता गरेको हो। सम्झौताअनुसार उक्त बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट पाउने जनाइएको छ । जसअनुसार मकवानपुरको हेटौँडामा रहेको भुँग्रो थकाली रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने जनाइएको छ ।
त्यस्तै, हेटौँडामै रहेको पल्पसा प्रदेशी होम प्रालिको खाना तथा पेयमा १० प्रतिशत, हेटौँडाकै क्विक ट्वान्टी हाउस होटेलको खाद्य तथा पेयमा १० प्रतिशत र कोठा शुल्कमा १५ प्रतिशत छुट पाउने जनाइएको छ । हेटौँडाकै हिमालयन स्विट एन्ड बेधरीको बेकरी, स्विट्स एन्ड रेस्टुरेन्ट आइटममा पनि छुट पाउने बैंकले जनाएको छ ।
त्यस्तै, काठमाडौंको महाराजगन्जमा रहेको एजिलस डाइग्नोस्टिक नेपाल प्रालिमा सबैप्रकारको परीक्षणमा १५ प्रतिशत छुट पाउने उल्लेख छ । काठमाडौंकै न्युरोडमा रहेको एन्जल ज्वेलरिज प्रालिमा सुनको गहना बनाउँदा ज्यालामा ४० प्रतिशत तथा सुन्धारामा रहेको एक्सप्रेस म्याग्दी होटेल प्रालिको सबै प्रकारको सेवामा १० प्रतिशत छुट पाउने जनाइएको छ ।
भैरहवाको गाउँले चुलो भैरहवा प्रालिमा खाना तथा खाजामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।