समाजवादी मोर्चाले बृहत् अन्तरक्रिया गर्ने

बिहिबार, १२ पुष, २०८०
डिजिटल संस्करण

पुसभित्र ७७ वटै जिल्लामा संयोजन समिति, माघमा सन्देश सभा, मोर्चाको नेतृत्वमा नेपालकै निरन्तरता

समाजवादी मोर्चाले प्रतिगामी चलखेल बढेको निष्कर्ष निकालेको छ । बुधबार बसेको मोर्चाको बैठकले चलखेलविरुद्ध सशक्त रूपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ । मोर्चाका अध्यक्ष माधवकुमार नेपालले देशको पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको बताए । 

मोर्चाले नेपाली विशेषताको समाजवाद के हुन सक्छ भन्ने विषयमा सेमिनारसमेत गर्ने भएको छ । अन्तर्राष्ट्रिय अनुभवसमेत हेरेर सबैका विचार सुनेर अगाडि बढ्ने मोर्चाको तयारी छ । ‘नेपाली विशेषताको समाजवाद के हुन सक्छ ? त्यसबारे गम्भीर चिन्तन–मनन गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय अनुभव पनि हेरौँ । सबैका विचार पनि सुनौँ । किन जनताले चाहेजस्तो सरकारले परिणाम दिन सकेन । त्यसको कारण खोजौँ,’ मोर्चाका अध्यक्ष माधवकुमार नेपालले भने । 

मोर्चाका सचिवालय सदस्यसचिव प्रमेश हमालका अनुसार माघमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ । पुस मसान्तभित्र ७७ वटै जिल्लामा समन्वय समिति गठन गरिसक्ने र माघभित्र सम्भव जिल्लामा सन्देश सभा गर्ने निर्णय मोर्चाले गरेको छ । मोर्चाको संयोजकको जिम्मेवारीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निरन्तरता दिने निर्णय भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढंगले जान खोजेको बताउँदै परिणाम दिने गरी सरकार अगाडि बढ्ने बताए । ‘म नयाँ ढंगले जान खोजिरहेको छु । जनताको अपेक्षा पूरा गर्ने गरी अगाडि बढ्ने सोच छ । त्यसका लागि आफ्नोतर्फबाट सबै कोसिस गर्छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

जसपा अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । संघीयता कार्यान्वयन नहुँदा जनताले परिवर्तनको महसुस गर्न नपाएको उनको दाबी थियो । नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले अदालतको पक्राउ पुर्जी र सरकारले गरेको सम्झौताबारे ध्यानाकर्षण गराएका थिए । विप्लवलगायत नेतामाथिको पक्राउ पुर्जीबारे मोर्चाले ध्यानाकर्षण भएको जनाएको छ ।

सुझावित समाचार