राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण तयार गर्नुपर्ने बताएका छन्।
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, तथा औद्योगिक व्यापार मेला एवं सातौँ बागलुङ महोत्सव उद्घाटन गर्दै पौडेलले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरे।
पौडेलले प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको लागि हिल स्टेसनहरू विकास गर्न आवश्यक रहेको औँल्याए। उनले सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटक आकर्षित गर्दै यस क्षेत्रको मौलिक संस्कृति संरक्षणमा महोत्सवले सहयोग गर्ने विश्वास लिएको बताए। स्थानीय परम्पराको संरक्षण गर्दै घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ।
राष्ट्रपति पौडेलले नागरिकको प्रतिस्पर्धात्मक र प्रविधिमा सुधार गरेर पूर्वाधार निर्माण, मेसिनरी प्रतिस्थापन तथा लघु घरेलु उद्योगको बजार प्रवर्द्धन गर्नुपर्ने बताए।
फरक प्रसंगमा उनले नेपालीको रगत र पसिना बगाएर बनाएको संविधान कसैले निमोठ्न नसक्ने प्रस्ट्याए। लाखौँ नेपालीको आन्दोलनबाट स्थापित संविधानलाई सदुपयोग गर्ने र देश विकास गर्ने जिम्मेवारी सबैले बहन गर्नुपर्ने उनको भनाइ थियो। राजनीतिक परिवर्तनजस्तै देशको अर्थतन्त्र सुधार, प्रविधिको प्रयोग र उद्योगको विकासमा समेत जोड दिनुपर्ने उल्लेख गरे।