गजेन्द्रनारायण सिंह अस्पतालमा रकम अपचलन : अख्तियारले थाल्यो छानबिन

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साढे ६ लाख रुपैयाँ अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालमाथि अनुसन्धान थालेको छ।

८ पुसमा नयाँ पत्रिका दैनिकले ‘गजेन्द्रनारायण सिंह अस्पतालमा काउन्टर इन्चार्ज सिंहले साढे ६ लाख रुपैयाँ अपचलन गरेको आरोप’ शीर्षकमा समाचार प्रकाशन गरेपछि अख्तियारको इटहरी कार्यालयले छानबिन सुरु गरेको हो।

‘नयाँ पत्रिकाको ८  पुसको न्युजका आधारमा छानबिन सुरु भएको छ,’ कार्यालयका एकजना कर्मचारीले भने, ‘कागजात उपलब्ध गराइदिन अस्पताललाई पत्र पठाएका छौँ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले अस्पताललाई  पत्र लेख्दै बिल काउन्टरसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको छ।

गजेन्द्रनारायण सिंह अस्पतालमा साढे ६ लाख रुपैयाँ अपचलन भएको पाइएको छ। अस्पतालको बिल काउन्टर इन्चार्ज धीरेद्रकुमार सिंहले ६ लाख ४५ हजार एक सय ५९ रुपैयाँ अपचलन गरेको तथ्य खुलेको हो।

बिल काउन्टरमा उठेको रकम बैंकमा दाखिला गर्नुपर्ने भए पनि अस्पतालका इन्चार्ज सिंहले आफ्नो व्यक्तिगत काममा लगाएर अस्पतालको पैसा दुरुपयोग गरेको अस्पताल स्रोतको दाबी छ। 

स्रोतका अनुसार आर्थिक वर्ष ०८०/८१ को कात्तिक मसान्तसम्म अस्पतालमा एक करोड ४४ लाख नाै हजार दुई सय ४९ रुपैयाँ आम्दानी भएको छ। तर, सिंहले एक करोड ३७ लाख ६४ हजार ८० रुपैयाँ मात्र बैंक दाखिला गरी ६ लाख ४५ हजार एक सय ५९ रुपैयाँ अपचलन गरेको स्रोतले बताएको छ।

बिल काउन्टरमा उठेको आम्दानी बैंकमा दाखिला नभएको अस्पतालका सूचना अधिकारी आशाराम यादवले स्वीकार गरेका छन्। उनका अनुसार बिल काटेको भोलिपल्टै बैंक दाखिला गर्नुपर्छ। तर, कात्तिकसम्मको आम्दानीको ६ लाख ४५ हजार रकम अझै दाखिला नभएको उनले बताए।

आर्थिक वर्ष ०८०/८१ को कात्तिक मसान्तसम्म एक करोड ४४ लाख नौ हजार दुई सय ४९ रुपैयाँ आम्दानी भएकोमा सिंहले ६ लाख ४५ हजार एक सय ५९ रुपैयाँ दाखिला गर्न बाँकी रहेको यादवले नयाँ पत्रिकासँग बताए।
 

सुझावित समाचार