नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जंगल गएका सासू–बहुारी मृत भेटिएका छन् । विनयी त्रिवेणी गाउँपालिका– १ ओमशान्ति टोलका घाँसदाउरा लिन जंगलमा गएका सासू–बुहारी आइतबार मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल छन् । प्रनाउ पौडेलले स्थानीय खहरे जंगलमा घाँस काट्न गएका सासू–बुहारी घर नफर्किएको उजुरी परेपछि जंगलमा खोजतलास गर्दा उनीहरूको शव भेटिएको बताए । ‘उनीहरू नभेटिएको भनी आइतबार मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जंगलमा खोजतलासका लागि गएका थियौँ,’ उनले भने, ‘खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटियो ।’
प्रनाउ पौडेलका अनुसार विष्णुको बायाँ कम्मर र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो । शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबाट मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रनाउ पौडेलले बताए ।