युपी ११ ले दियो पुलिसलाई ८९ रनको लक्ष्य

शनिबार, ७ पुष, २०८०
डिजिटल संस्करण

प्रो - क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा  तेस्रो दिनको खेलमा युपी ११ ले नेपाल पुलिस क्लबलाई ८९  रनको लक्ष्य दिएको छ। वीरगन्जको नारायणी रंगशालामा जारी रहेको खेलमा युपी ११ ले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८८ रन बनाएको हो। 

युपी ११ का लागि निखिल प्रतापले २८ बल खेल्दै २४ रन बनाए। अर्को खेलाडी जयदीप सिंहले ३१ बलमा १७ रन र शुभम् चौधरीले १९ बलमा १५ रन जोडे। खेलमा पुलिसका बलर रसिद खानले तीन विकेट लिए। उनले चार ओभरमा १४ रन दिएका हुन्। अर्को बलर करण केसी र सागर ढकालले दुई - दुई विकेट लिए। करणले चार ओभरमा २० रन र सागरले चार ओभरमा २३ रन दिए।

 प्रतियोगितामा नेपालका तीनविभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाले प्रतिस्पर्धा गर्दै छन्। सिंगल राउन्ड रोबिनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनलमा हुनेछ।

आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा वन्डर क्लब नोयडा र पर्सा ११ प्रतिस्पर्धा गर्नेछन्।
 

सुझावित समाचार