हाइड्रोले गाउँमा सडक पुर्‍यायो, तर मुआब्जा नदिएको स्थानीयको गुनासो

शनिबार, ७ पुष, २०८०
डिजिटल संस्करण

जुगल गाउँपालिकामा १४ वटा हाइड्रोपावर कम्पनी छन्। पाँचवटाले विद्युत् उत्पादन सुरु गरिसकेका छन्। नौ हाइड्रोपावर कम्पनी निर्माणाधीन अवस्थामा छन्। सबै हाइड्रोको क्षमता जोड्दा तीन सय २४ मेगावाट विद्युत् उत्पादन हुने अवस्था छ। यो राज्यका लागि सुखद् कुरा हो। जुगल हिमालबाट बगेर आएको ब्रम्हायणी नदीमा बन्दै गरेका विद्युत् कम्पनीका मालिकहरूको सल्लाहमा कात्तिकेबाट तेम्बाथाङ, तेगा र दीपुसम्म सडक ट्र्याक बनेको छ।

यहाँका स्थानीय आफ्नो जीवनकालमा मोटरबाटो आएकोमा हर्षित छन्। सदा दुई दिन लाग्ने बाटो कात्तिकेबाट मोटरमा सरर नेसम पुगेर केही समयको हिँडाइपछि गाउँ पुग्न पाउँदा यहाँको दैनिकीमा ठूलो परिवर्तन आएको पनि छ। तर, दुःखको कुरा गाउँको बीचबीचबाट लगिएको मोटरबाटोले स्थानीयको खेतबारी नोक्सान भएको छ। तेम्बाथाङ, तेगा, दीपु, अम्बाखर्क र क्यांसिङमा धेरै खेतबारी सडकले पुरेका छन्। 

३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावरले विद्युत् उत्पादन गरिसकेको छ। व्यवसायी उमेश कसजूले ३६ मेगावाट उत्पादन सुरु गरेर ४६ मेगावाटको बलेफी–२ को शिलान्यास गरेका छन्। बटुक लामिछानेको ४० मेगावाट क्षमताको बिजी हाइड्रोपावर, एमाले नेता भरत पराजुलीको ३५ र १५ मेगावाट क्षमताको ब्रम्हायणी हाइड्रोपावर, सीताराम तिमल्सिनाको ४३ मेगावाट क्षमताको सीता हाइड्रोपावर, चूर्णप्रसाद श्रेष्ठको ५० मेगावाट क्षमताको सिन्धुज्वाला हाइड्रोपावर कम्पनी निर्माणको चरणमा छन् ।

पूर्वराजदूत कमानसिंह तामाङको ७.८ मेगावाट क्षमताको याम्बालिङ हाइड्रोले  विद्युत् उत्पादन सुरु गरिसकेको छ । त्यसैगरी, वीरेन्द्र न्यौपानेको मुनलाइट हाइड्रोपावर २२ मेगावाट, कुवेरमणि नेपालको साझा हाइड्रोपावर २० मेगावाट, चन्द्र सिलवालको राइजिङ हाइड्रोपावर १ मेगावाट विद्युत् खरिद सम्झौतापछि निर्माणाधीन छन्। 

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको ९९० किलोवाट, चूर्णप्रसाद श्रेष्ठको ३.५ मेगावाट क्षमताको गेलुङखोला हाइड्रोपावर र ज्ञानेन्द्रलाल प्रधानको ४.२ मेगावाट विद्युत् कम्पनीले केही सालयता निरन्तरत विद्युत् उत्पादन गरिरहेका छन्। यति धेरै हाइड्रोपावर भएको जुगलमा स्थानीय भने पीडित छन्। हाइड्रोपावर कम्पनीहरूले राजनीतिक दलका प्रतिनिधि र निर्वाचित जनप्रतिनिधिलाई ‘कन्भिन्स’ गरेर आफ्नो योजना कार्यान्वयन गर्छन्। एमाले नेता भरत पराजुलीले तेम्बाथाङ हुँदै मोटरबाटो ब्रम्हायणी हाइड्रोपावरसम्म पुर्याएका छन्। तर, सो कम्पनीले स्थानीयलाई कुनै मुआब्जा दिएको छैन।

हाइड्रोपावरको काममा स्थानीयलाई संलग्न गराइएको छैन। तेम्बाथाङनिवासी साहिला शेर्पा भन्छन्, ‘हाइड्रोपावरले गाउँसम्म सडक त ल्याइदियो। तर, हाम्रो जमिनको मुआब्जा दिएन।’ स्थानीयलाई निर्माणको कुनै पनि काममा संलग्न नगराएको उनले सुनाए। गाउँको बीचबाट सडक लगिएको छ। यसमा स्थानीय खुसी छन्। सँगै दुःखी पनि छन्। किनकि, हाइड्रोले न मुआब्जा दियो न त काम। 

हिउँदको समयमा हाइड्रोपावरस्थल पुग्ने सडक निर्माण भएको छ। यद्यपि, बर्खामा बन्द हुन्छ। साहिला शेर्पा भन्छन्, ‘नेसम खोला र तेम्बाथाङ पुग्ने ब्रम्हायणीमा पक्की पुल नहालेसम्म  मोटर चल्दैन।’ सबै हाइड्रोपावर कम्पनी मिलेर नदीको किनारैकिनार सडक निर्माण गरिएको हो। अनकन्टार खोँचमा सडक खनेर हाइड्रोपावर निर्माण गर्नु चानचुने कुरा नभएको बलेफी हाइड्रोपावर कम्पनीका प्रतिनिधि चेतनाथ नेपालले बताए।

यता अम्बाखर्क  र क्यांसिङमा निर्माणाधीन हाइड्रोपावर कम्पनीले उब्जनी हुने बारी खनेर सडक बनाएको छ। स्थानीय फुर्पा शेर्पाको भनाइअनुसार सोझासीधा जनतालाई हाइड्रोपावर कम्पनीले कुनै मुआब्जा दिएको छैन। ‘विकट गाउँका जनता सोझो देखेर हाइड्रोपावरले काम पनि दिएनन्,’ फुर्पाले भने। जुगल गाउँपालिका वडा नं. १,२, ३ र ४ नम्बर वडाभित्र निर्माण भइरहेका एक दर्जन विद्युत् कम्पनीमा स्थानीयले रोजगार पाएका छैनन्। यस क्षेत्रको सडक निर्माणमा सरकारबाट बजेट हालिएको छैन। 

सुझावित समाचार