स्वास्थ्य बिमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

स्वास्थ्य बिमाका बिरामीले लागत साझेदारी (को–पेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले आगामी १ माघदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी को–पेमेन्ट गर्न लागेको हो ।

बोर्डका अध्यक्ष डा.गुणराज लोहनीका अनुसार बिमा लागू भएका सबै अस्पतालमा को–पेमेन्ट लागू गरिँदै छ । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुने उनको भनाइ छ । 

बिमाको रकम बाँकी रहेको भन्दै बिमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन् । को–पेमेन्ट लागू भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ ।

को–पेमेन्ट लागू भएसँगै आवश्यकताअनुसार थप निजी अस्पताललाई समेत बिमामा समावेश गरिँदै छ । ‘उसले राज्यको आर्थिक भारलाई केही कम गर्छ । थप सेवा कहाँ आवश्यक छ हेरेर निजी र सामुदायिकलाई पनि दिने निर्णय गर्छाैँ,’ उनले भने । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, दमजस्ता रोगको नियमित खानुपर्ने औषधि तीन महिनाका लागि एकैपटक दिने व्यवस्था गरिएको लोहनीले जानकारी दिए ।

नेपालमा ३० लाख हाराहारी परिवार स्वास्थ्य बिमामा जोडिएको उनको भनाइ छ । ०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बिमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बिमा ऐन, २०७४ जारी भई स्वास्थ्य बिमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ ।

सुझावित समाचार