लोकगायक एवं संस्कृतविद् यज्ञराज उपाध्यायको ‘काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति’ नामक पुस्तक लोकार्पण गरिएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा संस्कृतिविद् जगमान गुरुङ, प्रा.डा. वीणा पौड्याल, लेखक तथा कवि सुभाषचन्द्र भण्डारी र कवि डा. नवराज लम्सालले पुस्तक लोकार्पण गरेका हुन् । उपाध्याय ‘राईझुमा...’ लगायत देउडा गीतका गायकसमेत हुन् ।
९८४ पृष्ठको पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधालाई केलाएर मौलिक स्वरूपमा विधागत विषय संकलन गरी समावेश गरिएको छ भने पुस्तकमा संस्कार र संस्कृतिको वर्णन छ ।
संस्कृतिविद् गुरुङले नेपाली भाषा संस्कृतिको उद्गमस्थलबाट ठूलो र उच्चकोटिको पुस्तक आउनु नेपाल र नेपालीका लागि गौरवको विषय रहेको बताए । संस्कृतिविद् पौड्यालले सामाजिक र सांस्कृतिक लोकजीवनका अप्राप्य विषय उखान, टुक्का, लोककथा, गाथा, देउडा, दोहोरीसमेत यसमा समावेश भएकाले पुस्तक संग्रहणीय रहेको बताइन् । लेखक लम्सालले उपाध्यायको कृतिलाई समाज र संस्कृति बुझाउने अनि भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने बताए ।