म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न बेनी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ।
विभिन्न २५ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदकसहित प्रकाश माविले उपाधि चुमेको हो।
प्रतियोगितामा कुल ६६ स्वर्ण पदकमध्ये अंकतालिकामा गणना हुने ३१ स्वर्ण पदकमा प्रकाश माविले मात्रै २२ स्वर्ण हात पारेको छ। प्रतियोगितामा विजेता प्रकाश माविलाई नगद रु ५१ हजारको साथमा रनिङ सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा ५ स्वर्ण, १० रजत र २ कांस्य पदकसहित द्वितीय हुन सफल न्यू बेस्ट पोइन्ट आवासीय मावि तथा २ स्वर्ण, १ रजत र २ कांस्य पदकसहित तृतीय हुन सफल माउन्ट एभरेस्ट आवासीय माविलाई क्रमशः नगद रु ४० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ।
विधागत रूपमा समेत प्रतियोगिताका विजेता र उपविजेताहरुलाई ट्रफी र मेडल प्रदान गरिएको छ।
कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा, प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समितिका संयोजक चक्र केसी, वडाध्यक्षहरूसहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार वितरण गरेका थिए।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, मार्सल आर्ट, एथलेटिक्स र कबड्डीका विभिन्न ३७८ इभेन्टमा प्रतिस्पर्धा भएको थियो।