राष्ट्रिय सभा उम्मेदवार बन्न नेताहरूको दौडधुप

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

१९ सदस्यका लागि ११ माघमा हुने निर्वाचनमा सत्तागठबन्धनका दलले आफ्ना सिट यथावत् राखेर एमालेले जितेका नौ सिटमा भागबन्डा गर्ने 

आगामी ११ माघमा हुने राष्ट्रिय सभामा रिक्त २० सांसदको निर्वाचनका लागि उम्मेदवार बन्न सत्तारूढ दलमा आकांक्षीको दौडधुप सुरु भएको छ । शीर्ष तहमा सम्बन्धित दलले जितेको सिट यथावत् राखेर एमालेले जितेका नौ सिटमा भागबन्डा गरिने भएको छ । यद्यपि, हालसम्म गठबन्धनमा औपचारिक छलफल भने भइसकेको छैन । दलहरूले आन्तरिक छलफल गरेर पुसको पहिलो साता गठबन्धनको बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे औपचारिक छलफल गर्ने नेताहरूले बताएका छन् ।

राष्ट्रपतिबाट मनोनीत भएको एक, बागमतीमा चार, गण्डकी, कर्णाली र सुदूरपश्चिममा तीन–तीन तथा कोशी, मधेश र लुम्बिनीमा दुई–दुई गरी २० सिट रिक्त हुँदै छ । १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । एमालेबाट मनोनीतसहित नौ सांसदको म्याद सकिँदै छ । कांग्रेसबाट चार, माओवादीबाट तीन, एकीकृत समाजवादीबाट एक स्वतन्त्रसहित तीन र जसपाका एक सांसदको समयावधि सकिँदै छ ।

एमालेका नौ सांसदको स्थानमा गठबन्धन दलले भागबन्डा गर्ने तयारी छ । तर, दलका दाबी धेरै छन् । नेताहरूका अनुसार कांग्रेसले थप सात, माओवादी र एकीकृत समाजवादीले थप पाँच–पाँच र जसपाले थप एक सिट दाबी गरेका छन् । गठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले पनि एक सिट दाबी गरेको छ । त्योभन्दा पनि धेरै दलभित्र आकांक्षी छन् । दलका पदाधिकारीलाई भेटेरै र फोनमार्फत आकांक्षा देखाउने संख्या दर्जनौँ छ । ‘दर्जनौँ नेताले आकांक्षा देखाउनुभएको छ । भेटेरै र फोनमार्फत पनि आकांक्षा राख्नुभएको छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने । विचारको विकासमा अध्यक्षलाई सहयोग गर्न लागिपर्ने उनले बताए । माओवादीले ३ पुसमा पदाधिकारी बैठक बोलाएको छ । 

‘गठबन्धनबाट कति सिट कांग्रेसले पाउने विषय अलग छ । गठबन्धन दलबीचको छलफलबाट टुंगो लाग्छ । कांग्रेस आफैँले गर्नुपर्ने तयारी र उम्मेद्वारको विषयमा कार्यसम्पादन समिति बैठकमा छलफल हुन्छ । स्वाभाविक रूपमा कांग्रेसमा धेरै योग्य र योगदान गरेका साथीहरू हुनुहुन्छ । पार्टीले आवश्यकता र औचित्यतालाई हेरेर उम्मेदवार छनोट गर्नेछ,’ कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुरले भने ।

‘गठबन्धनबाटै चुनाव लड्ने सुनिश्चित छ । सिट बाँडफाँटबारे औपचारिक रूपमा छलफल भइसकेको छैन,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘गठबन्धन दलहरूको बैठक बसेर औपचारिक रूपमा टुंग्याउँछौँ ।’

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गठबन्धनबाटै चुनाव लड्ने भए पनि सिट बाँडफाँटबारे टुंगो लाग्न बाँकी रहेको बताए । ‘गठबन्धन दलको सिट सुरक्षित गर्दै अन्य सिट बाँडफाँट हुन्छ । कुन दललाई कति सिट भन्ने टुंगो लागिसकेको छैन,’ उनले भने । 

कांग्रेसबाट कृष्ण सिटौला र गोपालमान श्रेष्ठसहितका शीर्ष नेताहरू मुख्य दाबेदारका रूपमा देखिएका छन् । स्रोतका अनुसार कांग्रेसबाट सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी अगाडि सार्ने तयारी भइरहेको छ । राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफलको एजेन्डासहित कांग्रेसले शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाएको छ । सहमहामन्त्री फर्मुल्लाह मन्सुरले आकांक्षी धेरै देखिए पनि बैठकबाट आवश्यकता र औचित्यताका आधारमा उम्मेदवार छनोट हुने बताए । उनले गठबन्धनमा छलफल हुन बाँकी रहेको र कांग्रेसबाट तयारीका विषयमा कार्यसम्पादन समिति बैठकमा छलफल हुने बताए ।

प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेर पनि छनोटमा नपरेपछि सूचीबाट नाम हटाएका श्रेष्ठले राष्ट्रिय सभा अध्यक्षको आकांक्षा राख्दै आएका छन् । पूर्वउपसभापतिसमेत रहेका श्रेष्ठ आफ्नो योगदान र क्षमतालाई पार्टीले मूल्यांकन गर्ने विश्वास रहेको बताउँछन् । ‘राष्ट्रिय सभा निर्वाचन आउँदै छ । पार्टी र देशका लागि योगदान गरेको छु, योग्य पनि छु । पार्टीले मूल्यांकन गर्नेछ भन्ने लाग्छ,’ श्रेष्ठले भने । यसबाहेक कांग्रेसबाट आनन्द ढुंगाना, बलबहादुर केसी, अब्दुल सतार, सहमहामन्त्री मन्सुर, सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा परराष्ट्र सल्लाहकार रहेका अरुण सुवेदीलगायत पनि आकांक्षी छन् । डा. गोविन्दराज पोखरेल, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, किरण कोइरालालगायतको नामबारे पनि कांग्रेसवृत्तमा चर्चा छ । 

बुधबार कांग्रेसको शेखर–गगन समूहकोे भेलाले पटक–पटक अवसर पाएकालाई राष्ट्रिय सभामा रोक्न दबाब दिने निर्णय गरेको थियो । इतरले आफ्नो समूहबाट नाम र संख्या नतोकी मापदण्ड बनाएर उम्मेदवार छनोटका लागि दबाब दिने तयारी गरेको छ । 

माओवादीका आकांक्षीमा कोशीबाट चम्पा कार्की, मधेशबाट लीलामणि पोखरेल, विश्वनाथ साह, प्रह्लाद बुढाथोकी, गण्डकीबाट महासचिव देव गुरुङ छन् । यद्यपि, गुरुङ आफैँले भने इच्छा व्यक्त गरेका छैनन् । लुम्बिनीबाट कुवेर वली र डोरप्रसाद उपाध्यायलगायत आकांक्षी छन् । अजयशंकर नायक र रामनारायण बिडारीले पनि आकांक्षा देखाएका छन् । सबैभन्दा धेरै आकांक्षी सुदूरपश्चिमबाट छन् । देवराज रेग्मी, रेणु चन्द, प्रेमबहादुर बयत, लोकेन्द्र लम्साल, गोपाल चन्द, टीकाराम जैसी, देवीलाल चौधरी, अजित थारू, दीपेन्द्र रावललगायत आकांक्षी छन् ।

एकीकृत समाजवादीबाट प्रमेश हमाल, घनेन्द्र बस्नेत, गंगालाल तुलाधर, गणेश विक, सावित्रा भुसाल र दिलु पन्त मुख्य दाबेदार छन् । समाजवादीमा अवसर नपाएकालाई राष्ट्रिय सभामा लैजानुपर्ने मत बलियो छ । पार्टी निर्माणकै क्रममा रहेकाले जनप्रतिनिधि नभएको प्रदेशलाई प्राथमिकतामा राखेर अगाडि बढ्दा पार्टीलाई राम्रो हुने मत बलियो छ । समाजवादीले पुस पहिलो साता सचिवालयको बैठक बोलाएको छ । बैठकमा विधान संशोधन प्रस्तावका साथै राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल हुनेछ । 

२० फागुनमा को–को बिदा हुँदै छन् ?
गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका सांसदहरूको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ । एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई छन् । कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । माओवादीबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी छन् । एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा छन् । जसपाबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव छिन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि कार्यकाल सकिँदै छ । देवकोटा कलम चिह्न लिएर गठबन्धनबाट निर्वाचित भएका थिए । 

बिहीबारसम्म १० दल दर्ता, कांग्रेस बाँकी
राष्ट्रिय सभा निर्वाचनका लागि बिहीबारसम्म १० वटा दल दर्ता भएका छन् । जसमा एमाले, माओवादी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेमकिपा, नेपाल समाजवादी पार्टी रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार कांग्रेस अझै दर्ता भएको छैन । दल दर्ताको समय शुक्रबारसम्म छ । आयोगले अन्तिम मतदाता नामावली ५ पुसमा सार्वजनिक गर्नेछन् । यसैगरी, सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोल्न न्यायपरिषद्सँग निर्वाचन अधिकृतको नाम मागिएको छ । ‘आवश्यक सबै तयारी भइरहेको छ । माघ ११ गते शान्तिपूर्ण वातावरणमा मतदान हुन्छ,’ सहायक प्रवक्ता अर्यालले भने । 

अध्यक्षमा तीन दलकै दाबी

सत्तारूढ दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीले राष्ट्रिय सभाको भावी अध्यक्षमा दाबी गरेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिन लागेकाले भावी अध्यक्षका लागि दलहरूले दाबी गरेका हुन् । कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठले अध्यक्षका लागि लबिङ गरेका छन् । उनीहरू आगामी निर्वाचनमा राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष बन्ने कोसिसमा छन् । माओवादीले उपाध्यक्ष पद छाडेर अध्यक्ष लिन चाहेको छ । प्रधानमन्त्रीमा आलोपालो हुने भएकाले राष्ट्रपति कांग्रेस र सभामुख एमालेको भएकाले पार्टीले राष्ट्रिय सभा अध्यक्ष पाउनुपर्ने माओवादीको मत छ । माओवादीबाट नारायण दाहाल र वर्तमान उपाध्यक्ष उर्मिला अर्याल दाबेदार छन् । एकीकृत समाजवादीबाट प्रमेश हमाल मुख्य दाबेदार छन् । हमाल पनि सदस्य हुँदै अध्यक्ष बन्ने लबिङमा छन् ।

मध्यपहाडी यात्राबाट फर्किएपछि मात्र एमालेले तयारी थाल्ने

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धनले समीकरण बनाएर चुनाव लड्ने गरी आन्तरिक छलफल सुरु गरे पनि राष्ट्रिय सभामा ठूलो दल रहेको एमालेले भने चुनावका विषयमा कुनै तयारी गरेको छैन । पार्टी अध्यक्ष केपी ओलीसहित पदाधिकारी, स्थायी समिति सदस्य र अधिकांश केन्द्रीय सदस्य २ पुससम्म चल्ने मध्यपहाडी लोकमार्ग संकल्प यात्रा अभियानमा व्यस्त रहनुपरेकाले पनि चुनावतिर ध्यान दिन नपाएको एमालेले जनाएको छ । 

‘हामीले अहिले चुनावको कुनै तयारी गरेका छैनौँ, सामान्यतया निर्वाचन आयोगको कार्यतालिकाअनुसार दल दर्तालगायत काम मात्रै गरिरहेका छौँ, उम्मेदवारी के गर्ने, कसलाई उठाउने केही पनि छलफल गरेका छैनौँ,’ एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले भने, ‘कुनै पनि प्रदेशमा कसैको पनि बहुमत छैन, गठबन्धनका सबै दल मिल्नुभयो भने उहाँहरूकै बहुमत हुन सक्छ, तर हामी के गर्ने, कसरी जाने परिस्थितिको आकलन गरेर, स्थिति हेरेर मात्र निर्णय लिन्छौँ ।’ दाहालले पार्टी अध्यक्ष ओलीसहितका नेताहरू २ पुसमा काठमाडौं फर्किएपछि मात्र राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा पार्टीले छलफल गर्ने पनि जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन भर्सेस एमाले हुने सम्भावना छ । जसका कारण पनि एमालेले गठबन्धन भत्काउने कि अरू दलसँग मिलेर चुनावको सामना गर्ने अहिलेसम्म दोधारमै छ । 

राष्ट्रिय सभामा एमालेबाट १७ जना सांसद छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमलाई समेत गणना गर्ने हो भने सिट संख्या १८ हुन्छ । तर, उनी अहिलेसम्म प्रस्टसँग कतै खुलेका छैनन् । यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एमाले आठ सांसदमा सीमित हुनेछ । गठबन्धन भत्काउन असफल भए एमालेले ती सिट संख्या यो चुनावबाट गुमाउने सम्भावना प्रबल छ । 

देवेन्द्र दाहाल, एमाले राष्ट्रिय सभा संसदीय दलका नेता
हामीले अहिले चुनावको कुनै तयारी गरेका छैनौँ, सामान्यतया निर्वाचन आयोगको कार्यतालिकाअनुसार दल दर्तालगायत काम मात्रै गरिरहेका छौँ, उम्मेदवारी के गर्ने, कसलाई उठाउने केही पनि छलफल गरेका छैनौँ ।

कुनै पनि प्रदेशमा कसैको पनि बहुमत छैन, गठबन्धनका सबै दल मिल्नुभयो भने उहाँहरूकै बहुमत हुन सक्छ, तर हामी के गर्ने, कसरी जाने परिस्थितिको आकलन गरेर, स्थिति हेरेर मात्र निर्णय लिन्छौँ ।

सुझावित समाचार