बार्सिलोना रोयल एन्टवर्पसँग स्तब्ध

खेलको अन्तिम इन्जुरी समयमा पूर्वविजेता बार्सिलोना बेल्जियमको क्लब रोयल एन्टवर्पसँग ३–२ ले पराजित

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा पूर्वविजेता बार्सिलोना बेल्जियम क्लब रोयल एन्टवर्पसँग ३–२ ले स्तब्ध भएको छ । यस समूहबाट प्रिक्वार्टरफाइनल स्थान पक्का गरिसकेको बार्सिलोना खेलको अन्तिम मिनेटमा पराजित भएको हो । बार्सिलोनाले ६ खेलबाट १२ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा छ । पोर्चुगलको क्लब एफसी पोर्टोको पनि १२ अंक छ । गोलअन्तरमा बार्सिलोना शीर्ष स्थानमा रहेको हो । 

साख्तर डोनेट्क्सले ६ खेलबाट ९ अंक र रोयलले ३ अंक मात्र हात पारेको छ । बार्सिलोना खेलको दोस्रो मिनेटमा नै १–० ले पछि परेको थियो । रोयल एन्टवर्पका आर्थर भरमिरिनले अप्रत्याशित रूपमा अग्रता दिलाए । पहिलो हाफमै बार्सिलोना १–१ को बराबरी गोल फर्काउन सफल भयो । बार्सिलोनका लागि फेरान टोरेसले बराबरी गोल गरेका हुन् । उनले लामिन यमालको पासमा सटीक गोल गरे । 

खेलको ५६औँ मिनेटमा एन्टवर्पले २–१ को अग्रता लियो । यसपटक भिसेन्ट यान्सनले गोल गरे । युसुफले डिबक्सभित्र उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन् । यसअघि खेलको ५३औँ मिनेटमा बार्सिलोनाका सर्जी रोबर्टोले रातो कार्ड पाए पनि भिडियो असिस्टेन्ट रेफ्रीले निर्णयलाई परिवर्तन गरेका थिए । खेलको अन्तिम इन्जुरी समयको पहिलो मिनेटमा इलकाए गुन्डोगानको क्रसमा मार्क गुयुले बार्सिलोनालाई २–२ को बराबरीमा पुर्याए । इन्जुरी समयको पनि अन्तिम एक मिनेटमा जर्ज इलेनीखेनाले एन्टवर्पलाई ३–२ को रोमाञ्चक जित दिलाए । 

पिएसजी नकआउट चरणमा
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । पिएसजीले बोरुसिया डर्टमन्डलाई १–१ को बराबरीमा रोक्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । समूह ‘एफ’मा डर्टमन्डले ६ खेलबाट सर्वाधिक ११ अंक जोडेको छ । पिएसजीले ६ खेलबाट ८ अंक जोड्यो ।

यसै समूहमा एसी मिलानले न्युकासल युनाइटेडलाई २–१ ले हरायो । जितका बाबजुद एसी मिलान नकआउट चरणमा पुग्न सकेन । गोलअन्तरमा एसी मिलान पिएसजीसँग पछि पर्यो । यसैगरी समूह ‘ई’मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले लाजियोलाई २–० ले हरायो । एट्लेटिको र लाजियो नकआउट चरणमा चरण पुगिसकेका छन् ।

समूहको अर्को खेलमा सेल्टिकले फायनउडलाई २–१ ले हरायो । म्यानचेस्टर सिटीले समूह ‘जी’मा शतप्रतिशत नतिजा निकाल्यो । सिटीले रेड स्टार बेलग्रेडलाई ३–२ हरायो । यसै समूहमा आरबी लाइपजिगले योङ ब्वाइजलाई २–१ ले हरायो । यस समूहमा लाइपजिग उपविजेता बन्यो । 

सुझावित समाचार