एकै खेलमा भुवनको आठ विकेट

खप्तड इन्डोरविरुद्ध कीर्तिमानी बलिङ गरेका धनगढीका स्पिनर भुवन कार्कीले लगातार दुईपटक दुई विकेट लिए पनि ह्याट्रिक गर्न सकेनन्

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

धनगढी स्पोर्टस् क्लब लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को सेमिफाइनल प्रवेश गरेको छ । धनगढीलाई अन्तिम चारमा पुर्याउन बायाँहाते स्पिनर भुवन कार्कीले असाधारण बलिङ प्रदर्शन गरेका थिए । उनले कीर्तिमानी रूपमा आठ विकेट लिए । यस क्रममा उनले चार ओभरमा १८ रन मात्र खर्चेका थिए । उत्कृष्ट बलिङ प्रदर्शन गरेका भुवन म्यान अफ दी म्याच भए । भुवनको जादुमयी बलिङ प्रदर्शन भएको खेलमा धनगढीले खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरलाई ६७ रनले पराजित गर्यो ।

फाप्ला क्रिकेट मैदानमा धनगढी स्पोर्टस् क्लबले दिएको १६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १९.३ ओभरमा ९६ रन बनाउँदै सबै विकेट गुमायो । खप्तड इनिङको एक समय ७९–१ को बलियो अवस्थामा थियो । तर, थप १७ रन जोड्दा खप्तड स्पोर्टस्ले सम्पूर्ण विकेट गुमायो । भुवनले इनिङ्सको १५औँ ओभरमा तीन विकेट तथा १७औँ ओभरमा चार विकेट लिएका थिए । 

उनले दुवै ओभरमा लगातार दुई विकेट लिए पनि ह्याट्रिक विकेट लिन सकेनन् । उनले तीन ब्याट्सम्यानलाई बोल्ड तथा पाँच ब्याट्सम्यानलाई क्याच आउट पारे । धनगढीका अर्का स्पिनर सुनील धमलाले २ विकेट लिए । खप्तड इन्डोर स्पोर्टस्को ब्याटिङमा अभिषेक थापाले सर्वाधिक ४२ तथा प्रकाश पाण्डेले ३० रन बनाए । खप्तडका अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । 

धमलाको अर्धशतक
यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी क्लबले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो । धनगढी स्पोर्टस्का लागि ओपनर सुनील धमलाले अर्धशतकीय योगदान दिए । धमलाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । कप्तान भुवन कार्कीले ३६, प्रनीत थापाले २६ तथा अमरसिंह रौटेलाले अविजित १२ रनको योगदान दिए । धमलाले दोस्रो विकेटका लागि भुवन कार्कीसँग ८४ रनको साझेदारी गरेका थिए । धमलाले तेस्रो विकेटका लागि प्रनीत थापासँग ५४ रनको साझेदारी गरे । खप्तड इन्डोरको बलिङमा रवि विष्ट र आर्यन विष्टले समान दुई विकेट हात पारे ।

युथ अफ टीकापुर, घोडाघोडी क्रिकेट एकेडमी र सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेका छन् । लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार पुरस्कार पाउनेछन् । 

सुझावित समाचार