सुपथ पसलमा साढे आठ करोडको कारोबार

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

दसैँ–तिहार तथा छठका लागि सञ्चालित सुपथ पसलमा दुई प्रमुख सार्वजनिक संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ करोड ७७ लाख ८९ हजारको कारोबार गरेका छन् ।

दुवै संस्थानले सरकारले तोकेको छुट मूल्यमा उपभोक्तालाई खाद्य वस्तु तथा खसी–बोका र च्यांग्रा बिक्री गरेका थिए । साल्ट ट्रेडिङका सूचना अधिकारी ब्रजेश झाका अनुसार २१ देखि ३ मंसिरसम्म सञ्चालन गरेको सुपथ पसलमा सात करोड आठ लाख रुपैयाँको कारोबार भएको थियो । साल्ट ट्रेडिङले यो अवधिमा ६ हजार एक सय ६३ टन चिनी बिक्री गरेको जनाएको छ ।

दसैँ–तिहारमा चिनीको अभाव भएपछि साल्ट ट्रेडिङले प्रतिव्यक्ति दुई किलोका दरले सुपथ पसलबाट चिनी बिक्री गरेको थियो । सरकारले उद्योगको गोदामबाट झिकेर साल्ट ट्रेडिङको सुपथ पसलमा चिनी उपलब्ध गराएको थियो । त्यस्तै, खाद्य कम्पनीले यो अवधिमा एक करोड ६९ लाख ८९ हजारको खाद्य वस्तु छुट मूल्यमा उपलब्ध गराएको जनाएको छ । कम्पनीले छुट मूल्यमा खाद्यान्न उपलब्ध गराउन सरकारबाट दुई करोड ३२ लाख २० हजार रुपैयाँ अनुदानबापत प्राप्त गरेको थियो । सो रकमले दुई हजार सात सय टन खाद्यान्न बिक्री गरेको लक्ष्य राखेको थियो । 

तर, २१ असोजदेखि १८ मंसिरसम्म दुई हजार ४१ मेट्रिकटन मात्रै खाद्यान्न बिक्री भएको र ६२ लाख ३० हजार एक सय ८३ रुपैयाँबराबरको अनुदान रकम बाँकी रहेको पाएपछि २ माघसम्मका लागि सुपथ पसलमा छुट मूल्यमा खाद्यान्न बिक्री भइरहेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

सुझावित समाचार