भारतको संसद्मा बुधबार ठूलो सुरक्षा उल्लंघन हुँदा संसदीय कारबाही अवरुद्ध हुन पुग्यो । दुई व्यक्तिले धुवाँ निस्कने क्यानिस्टर बोकेर व्यवस्थापिकाभित्र प्रवेश गरेपछि केहीबेर आतंकको माहोल सिर्जना भयो । सुरक्षाकर्मीले उक्त जोडीलाई पक्राउ गरेको छ भने घटनामा संलग्न भएको आशंकामा अन्य दुई व्यक्ति भवनबाहिरबाट समातिएका छन् ।
प्रहरीका अनुसार संसद्भित्र प्रवेश गरेका दुईमध्ये एकजना ओभरहेड दर्शकदीर्घाबाट संसद्को तल्लो हिस्सामा फाल हानेका थिए । अधिवेशनको आधिकारिक फुटेजमा पनि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखिन्छ । त्यसपछि संसद्भित्र पहेँलो धुवाँ फैलिएको थियो ।
संसद्भित्र धुवाँ लिएर जाने जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन । घटनालगतै केही समयको स्थगनपछि संसद् पुनः सुरु भयो । सभामुख ओम बिरलाले संसद् अवरुद्ध गर्ने चारजनालाई पक्राउ गरिएको सांसदहरूलाई जानकारी गराएका थिए । त्यस्तै सभामुख बिरलाले संसद्भित्र प्रयोग गरिएको धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक नभएको सांसदहरूलाई पनि बताए । सांसद हनुमान बेनिवालले यसै वर्षको सुरुमा उद्घाटन भएको भारतको नयाँ संसद्को सुरक्षामाथि पछिल्लो घटनाले ‘ गम्भीर प्रश्न’ उठाएको बताए । घटनाको समयमा सदनमा करिब एक सय ५० सांसद थिए बताउदै उनले घटनाको गहन अनुसन्धानको माग गरे ।
नयाँदिल्लीस्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औँ वार्षिक दिवसमा यस्तो अवरोध भएको हो । २२ वर्षअघिको संसद आक्रमणमा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीलाई गोली हानी मारेका थिए ।