नेत्रहीन महिला क्रिकेटमा नेपालले भारतलाई हरायो

बिहिबार, २८ मंसिर, २०८०
डिजिटल संस्करण

भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी–२० क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित निकालेको छ । भारतले पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेट गुमाएर १७१ रन बनायो । १९.१ ओभरमा विनाक्षति १७४ रन बनाउँदै नेपाल सानदार जित निकाल्न सफल भयो । भारतमाथि जित हात पार्दा ओपनरद्वय विनिता पुन र मनकेशी चौधरीले अर्धशतकीय इनिङ्स खेले । 

कप्तान पुनले ६० बलमा सात चौकाको सहयोगमा ७८ रन बनाइन् । चौधरीले ५७ बल सामना गरी पाँच चौका मद्दतमा ७५ रन जोडिन् । भारतले नेपाललाई २१ अतिरिक्त रन दिएको थियो । यसअघि ब्याटिङ गरेको भारतका लागि ओपनर सिमु दासले सर्वाधिक ८१ रनको नटआउट योगदन दिइन् । उनले ६१ बल सामना गरेकी थिइन् । यसैगरी सुनिता सेठले २७ बलमा ३१ रन बनाइन् । मध्यक्रममा भारतको फितलो प्रदर्शन भयो । नेपाली बलरले २० अतिरिक्त रन दिएका थिए । 

भारतका आउट भएका सबै महिला ब्याट्सम्यान रनआउट भएका थिए । सरिता घिमिरेले ओपनर सुष्मा पटेललाई १४ रनमा रनआउट गरिन् । विनिता पुनले दुई खेलाडीलाई रनआउट गरिन् । नेपालको बलिङमा सरिता घिमिरेले चार ओभरमा २२ रन खर्चिइन् । विनिताले चार ओभरमा ३५ रन दिइन् । मुना आर्यालले चारै ओभर बलिङ गरी ३५ रन खर्चिइन् । भारतका बलरले कुनै पनि विकेट लिन सकेनन् । यसअघि भएको पहिलो र दोस्रो खेलमा नेपाल पराजित भएको थियो । जितसँगै सिरिज जित्ने सम्भावना कायमै राखेको छ । भारतको पहिलो हारपछि पाँच खेलको सिरिजमा भारत २–१ ले अघि छ । अब नेपाल र भारतबीच सिरिजको चौथो खेल बिहीबार हुनेछ । पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

सुझावित समाचार