श्रीलंका क्रिकेट बोर्डले हालै बर्खास्त गरिएका सदस्यहरूको पुनर्बहाली गरेको एक दिनपछि बुधबार नयाँ छनोटकर्ताहरू नियुक्त गरेको छ।
बोर्डले पूर्वअन्तर्राष्ट्रिय खेलाडी उपुल थरंगाको नेतृत्वमा दुई वर्षका लागि पाँचसदस्यीय छनोट समिति बनाएको छ।
श्रीलंका क्रिकेट बोर्डले एक विज्ञप्तिमा भनेको छ, ‘छनोटकर्ताहरूको पहिलो काम आगामी महिना जिम्बावेविरुद्ध ६ खेलको सेतो बलको शृंखलाका लागि टिम छनोट गर्नुहुनेछ।’
छनोट समितिका अन्य सदस्यमा पूर्वक्रिकेटर अजन्था मेन्डिस, इन्डिका डी सरम, थरंगा परना विताना र दिल रुवान परेरा छन्। उनीहरूले पूर्वखेलाडी प्रमोदय विक्रमासिंघेको अध्यक्षतामा रहेको प्यानलबाट जिम्मेवारी सम्हाल्नेछन्।
यस वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा श्रीलंकाको खराब प्रदर्शनका लागि विक्रमासिंघेको प्यानलको खराब छनोटलाई दोष दिइएको थियो। दिवालिया भएको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट लामो समयदेखि भ्रष्टाचारको आरोपमा फसेको छ। यसको परिणाम गत महिना बोर्डको बर्खास्तका रूपमा भएको थियो।
बोर्ड बर्खास्त गर्ने कदमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई अधिकारीहरूमाथि राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै श्रीलंका क्रिकेटलाई निलम्बन गर्नका लागि प्रेरित गर्याे।
मंगलबार खेलमन्त्री हरिन फर्नान्डोले निलम्बन समाप्त गर्नका लागि बर्खास्तलाई रद्द गरेका थिए। आइसिसीले अहिलेसम्म बोर्डको पुनर्बहालीका बारेमा कुनै प्रतिक्रिया दिएको छैन।