कारले स्कुटरलाई ठक्कर दिँदा आइतबार पोखरामा दुईजनाको मृत्यु भएको छ। आइतबार दिउँसो सवा चार बजे पोखरा महानगरपालिका– २६ सुन्दरी बजारस्थित पृथ्वी राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको ग.१३प ३५७८ नम्बरको स्कुटरलाई कारले ठक्कर दिएको थियो।
ठक्करपछि स्कुटरमा सवार दुईजना घाइते भएकामा उनीहरूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।
मृत्यु हुनेमा पोखरा महानगरपालिका– २५ हेम्जा बस्ने वर्ष २३ की अनिशा खड्का र पोखरा– ५ जिरो किमि बस्ने वर्ष २४ की भावना बराल छन्।
घटनालगत्तै इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले घाइते दुवैजनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएकोमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
खड्काको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बरालको चरक अस्पतालमा मृत्यु भएको हो। प्रहरीले कारचालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।