एरिक विष्टको दर्शनीय गोलमा बुटवल लुम्बिनीको जित, स्पोर्टिङ इलाम २-१ ले पराजित

नेपाल सुपर लिग २०२३

आइतबार, १७ मंसिर, २०८०
डिजिटल संस्करण

एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतमा बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ इलामविरुद्ध स्पष्ट जित निकालेको छ । 

दशरथ रंगशालामा आज भएको खेलको अन्तिम समयतिर कप्तान विष्टले सुन्दर गोल गर्दै बुटवललाई २–१ को जित दिलाए । 

करिब ३५ यार्ड टाढाबाट उनले प्रहार गरेको फ्रिकिक गोलपोस्टको माथिल्लो कुना हुँदै दर्शनीय गोलमा परिणत भएको थियो । यो गोल एनएसएलको दोस्रो संस्करणमा अहिलेसम्मकै उत्कृष्टमध्ये एक थियो । 

खेलमा दुवै टिमले पटकपटक गोलका अवसर सिर्जना गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको थियो भने तीनवटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । 

खेलमा अग्रता बुटवल लुम्बिनीले नै लिएको थियो । स्टेफेन विनोङले ४८औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ७८औँ मिनेटमा अब्दुल्लालय बाले स्पोर्टिङ इलामका लागि बराबरी गोल गरे ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको इलामको फिनिसिङ सार्प देखिएन । इब्राहिम जिते र भरत खवासले गोलका सुन्दर मौका गुमाएका थिए । भरतको प्रहार पोस्मा लागेर बाहिरिएको थियो । त्यति मात्र नभई पेनाल्टीमार्फत १–१ को बराबरी गोल गर्ने अवसर पनि उसले गुमाएको थियो । 

आजको जित बुटवलको तेस्रो खेलमा पहिलो हो । अंक–तालिकामा उसले महत्वपूर्ण तीन अंक आर्जन गरेको छ ।

सुझावित समाचार