नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट बन्द

आइतबार, १७ मंसिर, २०८०
डिजिटल संस्करण

ऐनविपरीत खोलिएको न्युज पोर्टल, अनलाइन जुवा खेलाउने तथा पोर्नसाइट बन्द

दूरसञ्चार प्राधिकरणले नेपालमा पाँच लाखभन्दा बढी वेबसाइटहरू बन्द गरेको छ । विभिन्न निकायको सिफारिसमा प्राधिकरणले धेरै पोनोग्राफीका वेबसाइटहरू बन्द गर्न निर्देशन दिएको हो । प्राधिकरणले सरकारको निर्देशनमा हालै टिकटक पनि बन्द गरेको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले समाजमा हत्या–हिंसाजस्ता अपराध बढेको भन्दै पोनोग्राफी साइटहरू बन्द गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । ५ असोज ०७५ मा मन्त्रालयले प्राधिकरणलाई पत्रमार्फत साइटहरू बन्द गर्न भनेको थियो । 

मुलुकी अपराध ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लील सामग्रीको आदान–प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ । इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले समाजको मूल्य–मान्यता र सामाजिक सद्भावनामा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको भन्दै त्यस्ता वेबसाइट बन्द गरेको मन्त्रालयले जनाएको छ । इन्टरनेट सेवाप्रदायकको आचार संहिताअन्तर्गत यस्ता वेबसाइट बन्द गरिनुपर्ने प्रावधान भएको प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए । ‘अश्लील सामग्री भएका साइट, समाजको शान्ति भंग गर्ने, सांस्कृतिक विचलन ल्याउनेलगायतका वेबसाइट बन्द गर्ने प्रावधान नै छ,’ उनले भने । यस्ता साइटहरूबारे भने प्राधिकरण आफैँले नै बन्द गर्न निर्देशन दिने उनले बताए । यस्ता साइट बन्द गर्नका लागि इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशनको पनि आवश्यकता नपर्ने उनले बताए । नेपालमा एक सय ३० वटा लाइसेन्सप्राप्त इन्टरनेट सेवाप्रदायक छन् । 

सयभन्दा बढी क्रिप्टोकरेन्सी तथा अनलाइन जुवासम्बन्धी साइट बन्द
नेपाल दूरसञ्चार प्राधिकरणले सयभन्दा बढी संख्यामा क्रिप्टोकरेन्सी तथा अनलाइन जुवासम्बन्धी वेबसाइट बन्द गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्णयअनुसार प्राधिकरणले ०७९ पुस २५ गतेदेखि अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवातासलगायतका साइट तथा एप्लिकेसन बन्द गर्न निर्देशन दिएको थियो । 

यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरोले पब्जी नामक गेम बन्द गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । ब्युरोले २८ चैत ०७५ मा  युवा पुस्तामा लोकप्रिय यो खेलले धेरै बालबालिकाको मस्तिष्कमा गम्भीर आघात पुर्याएको भन्दै  बन्द गर्ने निर्णय गरेको थियो ।  

केही कानुन व्यवसायीले पब्जी बन्द गर्नुले अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन भएको भन्दै ०७६ वैशाख ३ मा सर्वोच्च अदालतमा रिट दायर गरे । वैशाख ६ गते सो रिटमाथि सुनुवाइपछि सर्वोच्चले पब्जी बन्द गर्ने सरकारको निर्णयलाई बदर गर्ने अन्तरिम आदेश थियो । साथै, १५ दिनभित्रमा पब्जी बन्द गराउनुको कारण लिखित रूपमा माग गर्यो । यो मुद्दा अझै सर्वोच्चमा विचराधीन छ । 

सयभन्दा बढी अनलाइन पोर्टल बन्द
त्यस्तै, प्राधिकरणले करिब एक सय अनलाइन पोर्टलहरू बन्द गरेको निर्देशक रोयले बताए । नेपाल प्रेस काउन्सिलको आग्रहमा यस्ता न्युजपोर्टलहरू बन्द गरिएको उनले बताए । काउन्सिलले ऐनविपरीत खोलिएका न्युजपोर्टल सधैँका लागि बन्द गर्ने तथा ऐनविपरीत काम गरेको अनलाइनलाई कारबाहीस्वरूप निश्चित समयका लागि बन्द गर्न आग्रह गरेको उनले बताए । काउन्सिलले गरेको कारबाहीलाई स्वीकार गरी कसैले जरिवाना भुक्तानी गरेमा वा गल्ती स्वीकार गरेमा पनि काउन्सिल त्यस्ता अनलाइन पोर्टललाई फेरि सञ्चालन हुने अनुमति दिन्छ । यस्तो अवस्थालाई काउन्सिलकै आग्रहमा खुलाइने गरेको उनले स्पष्ट पारे ।

See More On

सुझावित समाचार