आइसर कमर्सियल भेहिकलको नेपालका लागि आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडले सर्भिस क्याम्प सुरु गरेको छ । कम्पनीले १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने चारदिने सर्भिस क्याम्प सुरु गरेको हो ।
कम्पनीले काठमाडौं उपत्यकाको जगाती र सतुंगल तथा उपत्यकाबाहिर बिर्तामोड, इटहरी, जनकपुर, वीरगन्ज, हेटौँडा, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढीमा क्याम्प सञ्चालनमा रहेको जनाएको छ । त्यस्तै, डिलरमार्फत पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशूलीबाट पनि ग्राहकले सेवा लिन सक्ने जनाइएको छ ।
सर्भिस क्याम्पमा आइसरका पाँच सयभन्दा बढी व्यावसायिक गाडीहरूको प्रभावकारी ढंगले जाँच एवं मर्मत–सम्भार गरिने जनाइएको छ । जाँच गराउन आउँदा सवारीधनीले स्पेयर्स पार्टस्मा १० प्रतिशत, लुब्रिकेन्ट्समा १५ प्रतिशत र विशेष मर्मतमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसैगरी, नियमित मर्मत–सम्भार, ड्राइभर ट्रेनिङ, ब्याट्री तथा वायरिङ चेक–अप निःशुल्क रूपमा पाउनुका साथै अन्य थुप्रै सुविधा पनि प्राप्त गर्ने जनाइएको छ ।
आइसर कमर्सियल भेहिकलका सर्भिस–जनरल म्यानेजर शरदकुमार मिश्रले बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याको समाधान गरी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले सर्भिस क्याम्प आयोजना गरेको बताए ।