अग्रज लोकगायिका तीर्थकुमारी थापाको एकल साँझ सम्पन्न

आइतबार, १० मंसिर, २०८०
डिजिटल संस्करण

अग्रज लोक गायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ।

राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’मा गायिका थापाले करिब २ घण्टा गायन प्रस्तुति दिइन्। केही युगल गीतमा संगीतकारसमेत रहेका छोरा सुरजकुमार थापाले उनलाई साथ दिएका थिए।

अन्नपूर्ण चेम्बर अर्केस्ट्राको आयोजना तथा काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्स्ट्रक्सनको सहआयोजनामा सम्पन्न कार्यक्रममा ‘डाँडामाथि बिहानै’ बोलबाट सुरु भएको प्रस्तुतिमा गायिका थापाले आफ्ना थुप्रै चर्चित गीतहरू पस्किइन्।

कार्यक्रममा वरिष्ठ संगीतकार रन्जित गजमेर, गायिका मीरा राना, गीतकारहरू डा. भोला रिजाल, आनन्द अधिकारी र दिनेश अधिकारी, सिएनएन हिरो अनुराधा कोइराला, गायकहरू सत्यस्वरूप आचार्यलगायत संगीत क्षेत्रक व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।

विसं २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुवात गरेकी ७३ वर्षीया गायिका थापाले ‘म त खाँदिनँ कुवाको पानी’, ‘ढुंगे बगर माया’, ‘झम्के फुली नाकैमा बुलाकी’, ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाइ हो’लगायत डेढ दर्जन गीत गाउँदा दर्शक गीतमा झुमेका थिए।

कार्यक्रममा २ वटा नेवारी गीतमाथि पनि गायिका थापाले प्रस्तुति दिइन्। ‘दाइ काँ को’ बोलको गीतमा रचनाकार रत्न बेहोसीले उनलाई गायनमा साथ दिए। एकल साँझ गर्ने आमाको सपनालाई पूरा गर्न पाउँदा संगीतकार सुरज दंग थिए। ‘मेरो सपना पूरा भयो। आमाका लागि यति गर्न पाएँ, मेरो जीवन सफल भयो। आमालाई यसरी नै आगामी वर्षहरूमा गाउन लगाइरहन पाऊँ,’ सुरजले भने।

५ दशकदेखि लोकसंगीतमा सक्रिय गायिका थापाले हालसम्म एक हजारभन्दा बढी गीत रेकर्ड गरिसकिन्। उनले प्रबल गोरखा दक्षिणबाहु मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौँ सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकेकी छिन्।

सुझावित समाचार