खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालयले कैलालीका चार ठाउँबाट किसानको धान खरिद गर्न सुरु गरेको छ। टीकापुर, शक्ति, भजनी र धनगढी उपमहानगरपालिकाको मोहनपुर गोदामबाट धान खरिद भइरहेको कम्पनीले जनाएको छ।
खाद्यले गत १९ कात्तिकबाट किसानको धान किन्न सुरु गरेको हो। चारवटै डिपोबाट हालसम्म करिब १० हजार क्विन्टल धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन्।
उनका अनुसार हालसम्म सबैभन्दा बढी टीकापुर डिपोबाट पाँच हजार क्विन्टल धान खरिद गरिएको छ। त्यस्तै भजनीबाट दुई हजार तथा धनगढीबाट एक हजार पाँच सय क्विन्टल धान खरिद गरिएको उनले जानकारी दिइन्। धनगढीको डिपोमा विगतका वर्षमा जस्तो धान बेच्ने किसानको भिड छैन। अन्य ठाउँमा भने धान बिक्री गर्न आउने किसानको संख्या उत्साहजनक रहेको खाद्यले दाबी गरेको छ।
चाडपर्वका कारण गत १९ देखि २४ कात्तिकसम्म र त्यसपछि ५ मंसिरबाट खाद्यले धान खरिद गरिरहेको छ। खाद्यले गत वर्ष २८ मंसिरबाट धान खरिद सुरु गरेकोमा यस वर्ष केही चाँडो खरिद सुरु गरेको हो। ग्रामीण क्षेत्रका डिपोमा किसानले लाइन बसेर धान बिक्री गरिरहेका बस्नेतले बताइन्।
खाद्यले सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरिद गरिरहेको छ। खाद्यले धान खरिदमा ढिलाइ गर्ने भएकाले धेरैजसो किसानले व्यापारीसँग सस्तोमा धान बेचेका छन्। कतिपय ठाउँमा खाद्यको डिपोसम्म पुग्न पायक नभएकाले पनि किसान व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य छन्।
सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ रुपैयाँ र मध्यम मसिनो धानको प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रुपैयाँ मूल्य तोकेको छ। तर, खाद्यले समयमै खरिद नगर्दा र दूरीले खाद्यको डिपोसम्म धान पुर्याउन नसक्ने किसान व्यापारीले तोकेको मूल्यमा धान बिक्री गरिरहेका छन्।
किसानले व्यापारीसँग प्रतिक्विन्टल अधिकतम दुई हजार सात सय ५० र मसिनो धान प्रतिक्विन्टल अधिकतम दुई हजार नौ सय रुपैयाँमा बिक्री गरिरहेका हुन्। खाद्यले यस वर्ष कैलालीबाट ६० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको छ।