छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव- २०८० सुरु

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजनामा भैरहवामा छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० सुरु भएको छ । महोत्सवको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मेलाको उद्घाटन गरेका हुन् ।मेलाको उद्घाटन गर्दै मन्त्री रिजालले देश बनाउनका लागि उद्योगी–व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवद्र्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बचाऔँ’ भन्ने नाराका साथ सिद्धार्थनगर नगरपालिका– ८ को अञ्चलपुरमा बौल्दै उनले भने, ‘तपाईंहरू निराश हुनुपर्ने आवश्यकता छैन । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्छ भन्ने तपाईंहरूको भावना छ, हिजोको प्रधानमन्त्रीज्यूको कुराबाट अवगत हुनुभएको होला, निराश हुनुपर्नेछैन ।’

देश आर्थिक संकटमा छ भनिरहँदा उद्योग–व्यापारमा लगानी गर्ने मानिसहरूमा अलि नैराश्यता उत्पन्न भएको आफूले महसुस गरेको उनको भनाइ थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदा औद्योगीकरण र व्यापार विविधीकरणमा केही असहजता भएको महसुस भएको उनले बताए । उनले भने, ‘विमानस्थल पूर्ण सञ्चालनका लागि सरकार प्रयासरत छ । मेरो पनि पहल रहने विश्वास दिलाउन चाहन्छु ।’ 

संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले देश विकासका लागि शिक्षाको कुरा उठाउन जरुरी रहेको बताइन् । उनले समग्र विकासका लागि शिक्षाले प्रेरित गर्नेमा जोड दिइन् । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र पूर्ण सञ्चालनमा ल्याउनुपर्ने बताए । एक–आपसमा सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआए आमरण अनशनमा बस्ने चेतावनी दिए । 

सुझावित समाचार