‘राज्य चलाउन नसके कुर्सी छाड्नुपर्छ’

गठबन्धन सरकारलाई ओलीको चेतावनी

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारको निकम्मापनले देशलाई प्रतिगमनतर्फ लैजानका लागि अनुकूल वातावरण सिर्जना गरेको आरोप लगाएका छन्। 

पार्टी केन्द्रीय कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन्। सरकारको त्यस्तो निकम्मापन स्वीकार्य नहुने चेतावनी दिँदै ओलीले राज्य सञ्चालन गर्न नसके कुर्सी छोड्नुपर्ने बताए। 

‘यस हिसाबले देश बिग्रिरहन दिन सकिँदैन। हामी देशलाई प्रतिगमनतिर जान दिँदैनौँ, यो हाम्रो कमिटमेन्ट हो। देशलाई प्रतिगमनतिर जाने अनुकूल परिस्थितिको सिर्जना गर्ने निकम्मापन हामीलाई स्वीकार्य छैन। अहिलेको सरकारको यो निकम्मापन, जसले प्रतिगमनतर्फ जान अनुकूल वातावरण सिर्जना गर्ने र प्रतिगामी शक्तिलाई हौस्याउने काम गरिरहेको छ, त्यो स्वीकार्य हुन सक्दैन,’ ओलीले शैलीमा भने, ‘कि उपयुक्त ढंगले सरकारले देश चलाउनुपर्छ, होइन भने सरकार छोड्नुपर्छ।’ 

उनले वैधानिकताको धागो समातेर अनियन्त्रित र अराजक परिस्थितिमा सरकार रमिते बन्ने कुरा स्वीकार्य नहुने भन्दै मध्यपहाडी लोकमार्ग अभियान सकिएपछि एमाले निरन्तर सरकारविरुद्धको आन्दोलनमा केन्द्रित हुनुपर्ने परिस्थिति निर्माण हुँदै गएको पनि प्रस्ट्याए।

एमालेको नीति, सिद्धान्त र संगठनलाई केन्द्रमा राखेर बलियो राष्ट्रिय शक्तिका रूपमा रूपान्तरण गर्ने उद्देश्यबाहेक वाम एकताको कुनै औचित्य नभएको पनि ओलीले प्रस्ट्याए। एमालेले लिएको सही नीति र संगठनलाई स्विकारेर अरू दल सामेल नभएसम्म व्यावहारिक एकता सम्भव नभएकाले वामपन्थी एकताको पक्षमा नबोल्न ओलीले केन्द्रीय सदस्यहरूलाई सचेतसमेत गराए। 

‘नेपालमा आज एउटा प्रगतिशील र अर्को दक्षिणपन्थी शक्ति छ। मैले झन्डा र ब्यानरको कुरा गरिरहेको छैन। म हाम्रा साथीहरूलाई वामपन्थी नमिली हुँदैन भन्ने पपुलिस्ट कुरा नगर्न आग्रह गर्दछु। वामपन्थी शक्ति मिल्नुपर्छ भन्ने कसले नजानेको कुरा, नयाँ फर्मुला हो र? महानन्द सापकोटाले एकपटक कविता वाचन गर्दै भन्नुभएको थियो–ज्यूज्यू हजुर बिन्ती पुकारी, हेर न मेरा तागेदारी,’ ओलीले भने, ‘हामीले वामपन्थी एकता भनेको मैले राजनीति सुरु गर्दा पार्टी विभाजित नै थियो। त्यहाँदेखि वामपन्थी एकताको माला जपेको, वामपन्थी एकता गराउँदै हिँडेको, गराउँदा-गराउँदा जति गरायो, त्यति फुट्छ, एउटा एकता गराउँदा दुईवटा फुट्छ। २०७५ मा एकता गर्यौँ, दुई फुट भो।’

एमालेले अर्को निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै उनले पार्टीको नीति र उद्देश्य मान्नेहरूलाई पनि गोलबन्द गरेर सरकार बनाउन सक्ने पनि ओलीले जिकिर गरे। 

‘एमालेलाई प्रमुख शक्ति मानेर देशभक्त, स्वाभिमानी शक्ति गोलबन्द भएर अगाडि बढ्नुपर्छ। हामीले संकीर्ण ढंगले सोचिरहेका छैनौँ। हामीले बहुमत ल्याएपछि सरकारमा अरूलाई पनि सामेल गर्छौं। तर, हाम्रो नीति र आचरणमा चल्नुपर्ने सर्त हुनेछ। राष्ट्रिय स्वाधीनता, सुशासन र विकासकेन्द्रित, स्वच्छताको नीतिमा राजनीति गर्न तयार हुनुपर्छ,’ ओलीले भने, ‘हामी उनीहरूलाई पनि सरकारमा लिएर जान्छौँ। हामी एक्लै सरकार चलाऊँ भन्ने होइन, हामी व्यापक सबल, सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ।’ 

उनले सिद्धान्तलाई केन्द्रमा राखेर पार्टीले व्यावहारिक राजनीति गर्नुपर्नेमा जोड दिए। ‘काँचो राजनीति चपाएर बसेर केही पनि हुँदैन, राजनीतिलाई प्रागमेटिक तर उद्देश्य, सिद्धान्त नछोडी प्रागमेटिक राजनीति पनि गर्नुपर्छ। हामीले व्यावहारिक राजनीति गर्नुपर्छ। व्यावहारिक राजनीति नहुने, सिद्धान्त जप्ने, उपलब्धि केही नहुने, आफू साँघुरिँदै जाने, आफ्ना विचारमा अरूलाई सहमत गराउन नसक्ने, अरूका विचारमा लहसिँदै जाने, अरूका स्वार्थमा काम गर्ने खालका कुराहरू न वामपन्थी हुन्, न केही हुन्,’ उनले भने।

एमालेको सर्वोच्चतालाई स्वीकार नगर्नेहरूसँग एकता नहुने भन्दै ओलीले पार्टी बलियो बनाउने काममा केन्द्रित हुनुपर्नेमा पनि जोड दिए। 

‘हामीले पार्टी एकताका सवालमा धेरै अनुभव हासिल गरेका छौँ। क्लियर कट रूपमा एमालेको नीति, एमालेको संगठनको सुप्रिमेसीलाई खुलस्त स्वीकार गरेर त्यसमा समाहित हुने गरी मात्रै एकता गर्न सकिन्छ। नत्र बराबरको, समानान्तर फुटिङमा दुई अध्यक्ष बनाएर यस ढंगको एकता हुँदैन,’ ओलीले भने, ‘यो अनुभव हामीले लियौँ, कोसिस गर्यौँ, प्रयोग गर्यौँ। व्यावहारिकताको पनि हामीले उन्नत रूप देखायौँ। हामीले आफ्नो शक्ति निर्माण गर्नुपर्छ वैशाखी, लौरी खोज्ने र त्यसमा टेकेर बलियो हुन्छु भन्ने होइन। आफ्ना खुट्टा मजबुद बनाउने अभ्यासमा लाग्नुपर्छ।’

सुझावित समाचार