प्रहरीको ३६ रोपनी जग्गा आफ्नो नाममा लैजान खोज्ने पूर्वनासु पक्राउ

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

किर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा पूर्वकर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काभ्रे, पनौतीका ६४ वर्षीय पुष्करबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो । उनले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका हुन् । 

वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएकोमा बस्नेतले आफ्नो निजी दाबी गर्दै नक्कली कागजपत्र तयार पारेको प्रहरी दाबी छ । उनीविरुद्ध सिआइबीले किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ । बस्नेत मालपोतकै अवकाशप्राप्त नायब सुब्बा हुन् । उनले पेस गरेका कागजपत्र नक्कली भएको पुष्टि भएपछि पक्राउ गरी कारबाही अघि बढाइएको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् । 

१५ साउन ०५२ मा मन्त्रिपरिषद्को निर्णयले सो जग्गा प्रहरीलाई भोगचलन गर्न दिने निर्णय गरेको थियो । वन क्षेत्रको जग्गा प्रहरीको नाममा नामसारी गर्न नमिल्ने भएकाले भोगचलनको अधिकार मात्र दिइएको थियो । पनौती नगरपालिका– ६ मा पर्ने सो जग्गा कित्ता नम्बर ७५ अन्तर्गत पर्छ । नेपाल सरकारको निर्णयअनुसार ०५२ देखि नै प्रहरीले भोगचलन गर्दै आएको छ । सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ । बस्नेतले सो जग्गा आफ्नै दाबी गरी सर्वाेच्च अदालतमा पनि मुद्दा दायर गरेका छन् । 

प्रहरीविरुद्ध मुद्दा हाल्ने बस्नेत मालपोत कार्यालयकै पूर्वकर्मचारी भएकाले उनले सरकारी कागजपत्र किर्ते गरी सच्याएको प्रहरी अधिकारी बताउँछन् । नापी हुँदाको बखत सो जग्गा वन क्षेत्रमा पर्ने उल्लेख थियो । नापी फर्म नम्बर १ क्षेत्रीय किताबमा पटक–पटक सच्याइएको छ । जग्गाको लगतसमेत केरमेट भएको छ । तत्कालीन फरेस्टर बेचन चौधरीको समेत हस्ताक्षर किर्ते भएको प्रहरी अनुसन्धानमा पुष्टि भएको छ । सरकारले सो जग्गा प्रहरीलाई दिएकोमा सरकारी कागजपत्र भोगहकसमेत मेटाइएको सिआइबीका अधिकारी बताउँछन् । 

नाटकीय शैलीमा बस्नेतले सो जग्गा आफ्नो पार्ने प्रयास गरेका हुन् । जग्गा हात पार्ने योजनाअनुसार बस्नेतले भाउजू कान्छी बस्नेतलाई जिल्ला अदालत काभ्रेमा अंश मुद्दा हाल्न लगाएका थिए । उक्त जग्गासमेत दाबी गरी मुद्दा हाल्न लगाएकोमा जिल्ला अदालत काभ्रेले तिरो तिरेको जग्गा दर्ता भएको वेला उनलाई दिन आदेश दिएको थियो । सो आदेशअनुसार नजिकैको १२ रोपनी जग्गा उनको नाममा दर्ता भइसकेको छ । अदालतको सोही निस्सा देखाएर थप ३६ रोपनी जग्गा दाबी गर्दै उनी ०७४ मा मालपोत गए । तर, वनको जग्गा प्रस्ट देखिएको र कागजपत्रमा केरमेट देखेपछि मालपोतका कर्मचारीले दर्ता गर्न मानेनन् । सोविरुद्ध बस्नेत यतिवेला सर्वाेच्च गएका थिए ।

सर्वाेच्चमा मुद्दा दायर गर्दा प्रहरीलाई प्रतिवादी बनाएपछि मात्र प्रहरीले यसबारे जानकारी पाएको हो । अंशबन्डाको घुमाउरो तरिका प्रयोग गरी योजनाबद्ध रूपमा उनले सो जग्गा हात पार्ने योजना बनाएको प्रहरी अधिकारी बताउँछन् । सो जग्गा आफ्नो भएको दाबी गर्न उनले त्यसको तिरो तिरेको प्रमाण पेस गरेका छन् । तर, मालपोत कार्यालयका अनुसार सो तिरो अर्काे १२ रोपनीसँगैको जग्गाको हो । जसकारण उनले अदालतलाई समेत भ्रममा पार्न खोजेको प्रहरी अधिकारी बताउँछन् । नापी कार्यालयको फिल्डबुकमा सो जग्गा खर–चाहार भन्ने उल्लेख छ । 

See More On

सुझावित समाचार