३ प्रश्न

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

माइतीघर र बानेश्वर क्षेत्रमा आन्दोलन निषेधको राजनीतिक अर्थ के हो ?
यो एकदमै गलत निर्णय हो । आन्दोलन नहुँदै, कत्रो र कस्तो आन्दोलन हुन्छ भन्ने देख्दै नदेखी, जनसहभागिता हुन्छ कि हुँदैन निश्चित नभई यसरी हल्लाकै भरमा आन्दोलन निषेध गर्नुको अर्थ छैन । अनुमानको भरमा यसरी आन्दोलन रोक्नु जनताको लोकतान्त्रिक अधिकार कुण्ठित गर्नु हो । हिजोका दिनमा आन्दोलन गरेर आएका शक्तिले यस्तो निर्णय गर्नु हुँदैनथ्यो ।  

स्थापित, पुराना र ठुला भनिएका दलहरू दुर्गा प्रसाईंसँग डराएका त हैनन् नि ?
दुर्गा प्रसाईंको आन्दोलन र जनताबीच कुनै ‘कनेक्सन’ हुन्छ जस्तो लाग्दैन । उनले बैंक तथा लघुवित्तहरूबाट ठगिएका जनताको सानो हिस्साको सहानुभूतिसम्म पाउन सक्छन् । तर, अनुमानका भरमा आन्दोलन निषेध गरेर सरकार स्वयंले उनको आन्दोलनमा ‘सेन्सेसन क्रिएट’ गरिदियो । सरकारले त्यसलाई ‘ग्लामराइज्ड’ गरिदियो । प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबाहेक कांग्रेसलगायत अन्य दल र तिनका नेता प्रसाईंबाट डराएका छैनन् । तिनले उनको आन्दोलनलाई महत्व दिएको देखिन्न । 

व्यवस्था नै संकटमा परेको या प्राप्त गणतन्त्र नै गुम्न सक्ने चर्चा किन चलिरहेको छ राजनीतिमा ?
यसमा दुर्गा प्रसाईं या राजावादीहरूको दोष छैन । यति नै कारणले गणतन्त्र नै गुम्ला जस्तो लाग्दैन । ठुला दलको कुशासन, भ्रष्टाचार, लुटतन्त्र आदिले गर्दा यो व्यवस्थामा ‘क्राइसिस’ आएको पक्का हो । तर, यसले प्राप्त लोकतान्त्रिक गणतन्त्र अन्त्य गरी राजतन्त्र नै फर्काउँछ भन्ने होइन । यसले नयाँ र बलियो लोकतान्त्रिक शक्तिलाई स्थापित गर्न भने सक्छ ।  

सुझावित समाचार